बैंकिङ्ग क्षेत्रमा अराजकता फैलाउनेलाई कारबाहीको माग


काठमाडौं– बैंकिङ्ग क्षेत्रमा अराजकता फैलाउनेलाई कारबाही गर्न माग गरिएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले आइतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमार्फत आम–सर्वसाधारणहरुलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तीजनक अभिव्यक्ति दिनेहरुलाई कानूनको दायरामा ल्याउन समेत सरकारी निकायहरुलाई आग्रह गरिएको छ ।

साथै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बैंकिङ्ग क्षेत्रले समग्र अर्थतन्त्र तथा मुलुकको आर्थिक विकासमा खेलेको भूमिकाको बारेमा हामी सबै अवगत नै छौं । हाल बैंक तथा वित्तीय संस्थाहरुमा ५ करोड ३५ लाख भन्दा धेरै निक्षेप खाताहरु र १८ लाख भन्दा धेरै कर्जा खाताहरु संचालनमा छन् । देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मुलुकको कुल ग्राहस्थ उत्पादन भन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्राहस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ्ग सेवाहरु आफ्ना ६४४१ शाखाहरु मार्फत देशभर प्रदान गर्दै आइरहेका छन् । साथै, देशको दुर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरुले २८ लाख भन्दा धेरै स–साना ऋणीहरुलाई रु. ४ खर्ब भन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रुपान्तरणमा अहम भूमिका खेलेको सर्वविदित नै छ । यी सबै संस्थाहरुले ८२,००० भन्दा धेरै कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आ।व २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारलाई रु ३१ अर्ब भन्दा धेरै राजश्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्व बमोजिम बैंक तथा वित्तीय क्षेत्रहरुले रु. ७७ करोड भन्दा धेरै विविध सामाजिक कार्यहरुमा खर्च गरेका छन् ।’

अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरुको पालना गर्दै, नेपालको बैंकिङ्ग क्षेत्र उदाहरणको रुपमा स्थापित बताइएको छ । यस्तै राष्ट्र बैंकको सुक्ष्म निगरानी र सोको नीतिरनियमहरुको अधिनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ्ग क्षेत्र पारदर्शी मात्र नभई सुपरिवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको विज्ञप्तिमा उल्लेख छ ।