काठमाडौं – हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न इन्टरनेसनल बेलुन फियस्ता २०२४ मा सहभागीता जनाएको छ ।
गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने सो फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि. बि ढकाल सहभागी भएका हुन् ।
कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो । जसमा नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो ।
कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए ।
आइतबार समापन भएको कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागीता जनाएको कम्पनीका निर्देशक ढकालले बताए ।
कार्यक्रम अवधिमा खटिएका पाइलट र बलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोजसहित नेपाली नाइट आयोजना गरिएको थियो । सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको ढकालले बताए ।
मुलुकको प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ । निर्देशक ढकालले भने,‘नेपालमा बेलुन पनि छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो ।’
उनले कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत बताए । उनले भने, ‘धेरैमा बुद्ध इण्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं।’
उनले नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने प्रशस्तै सम्भावना रहेको बताए । थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको यस कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो । कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेको ढकालले बताए ।



About Us
प्रतिक्रिया