खराब कर्जाको चपेटामा भारतीय बैंक, यस बैंक डुब्यो, अन्य लाइनमा 

खराब कर्जाको चपेटामा भारतीय बैंक, यस बैंक डुब्यो, अन्य लाइनमा 


बैंकिङ्ग समाचार । 

भारतको बैंकिङ्ग क्षेत्र लामो समयदेखि खराब कर्जाको चपेटामा फसिरहेका छन् । भारतीय केन्द्रीय बैंक पनि यसको न्युनीकरणमा जुटेको छ । तर पनि खराब कर्जाको अवस्थामा सोचेअनुरुप सुधार आउन सकेको छैन । विगत २० वर्षको तथ्यांक हेर्दा सन् १९९९ मा भारतका बैंकहरुको खराब कर्जा सबैभन्दा धेरै पुगेको थियो । सो वर्ष बैंकहरुको खराब कर्जा १४.७ प्रतिशतसम्म पुगेको थियो । त्यसयता, सन् २०११ मा सबैभन्दा कम  २.३ प्रतिशत खराब कर्जा थियो । 

त्यस्तै, सन् २०१८ मा ११.२ प्रतिशत रहेको खराब कर्जा २०१९ को सुरुवातमा अलिक घटेता पनि अन्तिममा झन्डै १० प्रतिशत पुग्यो ।
२०२० को सुरुवातमा पनि खराब कर्जामा सुधार हुन सकेको छैन । यस वर्षको अन्त्यसम्ममा खराब कर्जा अझै बढ्न सक्ने अनुमान केन्द्रीय बैंक स्वयमले गरेको छ । 

स्टेट बैंकमा खराब कर्जाको मात्रा बढी रहेको छ । २०१९ मा १२.७ प्रतिशत रहेको यस्तो कर्जा २०२० मा १३.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । निजी क्षेत्रका बैंकहरुको निष्कृय कर्जा ३.९ प्रतिशतबाट ४.२ प्रतिशत पुग्ने अनुमान छ । विदेशी बैंकहरुमा खराब कर्जा कम रहेका छ । २०१९मा यस्ता बैंकहरुमा २.९ प्रतिशत खराब कर्जा छ । २०२० मा यस्तो कर्जा ३.१ प्रतिशत पुग्ने अनुमान छ ।

डुब्यो यस बैंक 

भारतको मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’ खराब स्थितीमा पुगेको छ । स्थीति नाजुक बनेपछि बैंकको सम्पुर्ण व्यवस्थापन भारतीय केन्द्रिय बैंक भारतीय रिजर्भ बैंकले सम्हाल्ने भएको छ ।

व्यवस्थापन पक्ष सम्हाल्ने घोषणा गर्दै बैंकबाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने निर्णय पनि गरेको छ । तर, यस्तो आकस्मिक निर्णय गरेपछि निराश बैंकका ग्राहकहरु यस बैंकका एटिएम र शाखा कार्यालयमा पैसा झिक्न लामो लाइनमा बस्न बाध्य भएका छन्। 

मुम्बईको फोर्ट शाखाबाट पैसा झिक्न लामो लाइनमा बसेका यस बैंकका ग्राहक योगेश शर्माले आरबिआईले एक महिनाको अवधिमा बैंकबाट ५० हजार भारु मात्र झिक्न पाउने व्यवस्था नै आश्चर्यजनक रहेको ग्राहकहरु बताउँछन् । 

भारतीय केन्द्रीय बैंकले बिहीबार यस बैंकको वित्तीय अवस्था खराब भएको भन्दै कारोबारमा एक महिनाको प्रतिबन्ध लगाएको थियो ।

यस बैंकको पारेलस्थित एटिएममा पनि पैसा थिएन । यस एटिएममा ठूलो संख्यामा मानिस भेला भएका थिए । कारोबार रोक्का भएको अवधीमा यस बैंक लिमिटेडले रिजर्भ बैंकको लिखित अनुमती बेगर ५० हजार भारुभन्दा बढी निकाल्न दिने छैन ।