कोरोनाले अर्थतन्त्र खुम्चिदा पनि किन बढ्दै छ नेप्से, बिज्ञहरु भन्छन्ः ‘बढ्दो तरलता र लगानी क्षेत्र अभावले शेयर बजारलाई मलजल’

कोरोनाले अर्थतन्त्र खुम्चिदा पनि किन बढ्दै छ नेप्से, बिज्ञहरु भन्छन्ः ‘बढ्दो तरलता र लगानी क्षेत्र अभावले शेयर बजारलाई मलजल’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।
कोरोनाका कारण निषेधाज्ञाले मुलुकको अर्थतन्त्र खुम्चिरहेको छ, तर यही वेला शेयर बजार निरन्तर उकालो लागिरहेको छ । कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र खुम्चिरहेका वेला अर्थतन्त्रको ऐना मानिने शेयर बजारमा भने हरियाली छाएको छ ।

साताको पहिलो दिन आज आइतबार पनि नेप्से करिव ३३ अकं बढेर अहिले सम्मकै उच्च अंक २८२० मा पुगेको छ । नेप्से सूचकमा मात्रै होइन, दैनिक कारोबार रकम पनि ११ अर्ब ६९ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।

कोरोना भाइरसका कारण मुलुकको आर्थिक स्थिति कमजोर हुँदै जाने सम्भावना बढ्दै गएको छ । पछिल्लो पटक बैंशाख १६ पछिको निषेधाज्ञाले आर्थिक गतिविधिमा अवरोध हुँदा कृषिबाहेककै क्षेत्रबाट २७ देखि २८ लाख नेपालीले रोजगारी गुमाइसकेको अनुमान छ । केहीले रोजगरी गुमाइ नसकेकाे पनि आम्दानी कटौती हुन पुगेको अर्थविद् डा. शंकर शर्माले बताए ।

त्यति मात्रै होइन, कोरोना भाइरसका कारण शेयर बजारमा सूचीकृत कम्पनीहरूको नाफाको दर पनि खासै बढ्न सकेको छैन् । बैंकहरूले बाँड्ने प्रतिफल दर १३ प्रतिशतको हाराहारीमा छ । चालु आर्थिक वर्षमा पनि शेयरमै लगानी गर्दा प्राप्त हुने प्रतिफल गत आर्थिक वर्षजस्तै हुने अनुमान गरिएको छ । हाल राष्ट्र बैंकले दिएको नीतिगत सहुलियतका कारण बैंकहरूको कर्जा खराब हुन पाएको छैन, तर कर्जाको गुणस्तर भने खस्किएको छ ।

बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको तर लगानीको अन्य क्षेत्र खुम्चिएका कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । ‘तरलताकै कारण शेयर बजार बढ्नु कत्तिको उचित हो मैले बुझ्न सकिन,’ उनले भने ।

अन्य क्षेत्रमा लगानी माग नहुँदा बैंकहरूले बोलाएरै शेयर कर्जा दिइरहेको लगानीकर्ता बताउँछन् । जसले गर्दा आयातमा लाग्दै आएका व्यापारीदेखि लगानी क्षेत्र नपाएकाहरूले शेयर बजारमै पैसा खन्याइरहेका छन् । विशेष गरेर बजारमा बैंक तथा वित्तीय संस्था र बिमा समूहले कारोबार रकममा उचाइ थपिरहेको छ । शेयर बजारको करिब ७५ प्रतिशत हिस्सा यही क्षेत्रमा छ ।

गत वर्षको फागुनपछि लगाइएको लकडाउन र निषेधाज्ञापछि बैंकिंङ प्रणालीमा २ खर्ब भन्दा बढी तरलता थियो । पहिलो पटक लगाईएको निषेधाज्ञ र लकडाउन खुलेपछि उक्त लगानीयोग्य रकम घटेर करिव ४० अर्बको हाराहारीमा आइपुगेको थियो ।

तर, दोस्रो लहरको कोरोना भाइरसको संक्रमण बढेपछि पुनः बैंकमा भएको रकम ऋणको रुपमा जान नसकेपछि तरलता बढ्न थालेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकहरूमा ५४ अर्ब रुपैयाँ अधिक तरलता छ । लगानीयोग्य रकम प्रयाप्त मात्रमा भएपछि ब्याजदर घटेर ८–९ प्रतिशतसम्ममा आइपुगेको छ । कोरोनाको प्रभावबाट अर्थतन्त्रलाई राहत दिन राष्ट्र बैंकले बजारमा तरलता बढाउने तथा ब्याजदर घटाउने नीति लिएकाले यो स्थिति सिर्जना भएको हो ।

त्यस्तै, बैंकहरूलाई शेयर धितोमा कर्जा प्रवाह गर्ने मार्जिन पनि प्रशस्त बाँकी छ । बैंकहरूले अहिलेसम्म शेयर धितो (मार्जिन प्रकृतिको कर्जा) १ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अझै त्यति नै रुपैयाँ शेयरमा लगानी गर्न सक्छन् ।

बैंकहरूले थप १ खर्ब लगानी गर्न सक्ने ठाउँ छ । सोही कारण कर्जा लगानीमा समस्या खेपिरहेका बैंकहरूले शेयर धितो कर्जा बढाइरहेका छन् ।

दैनिक कारोबार रकमका आधारमा हालसम्मकै उच्च कारोबार हुन थालेको छ  । अहिले दैनिक १० अर्ब रुपैयाँको कारोबार हुन थालेको छ । सामान्य अवस्थामा भन्दा यो कारोबार रकम बढी हो । आइतबार मात्र ११ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यसअघि नेप्से वृद्धिकै दिशामा भए पनि कारोबार रकम भने वृद्धि हुन सकेको थिएन । तर, पछिल्लो समयमा नेप्से वृद्धिको दिशामा मात्र देखिएको छैन, दैनिक औसत कारोबार पनि बढ्न पुगेको छ ।

बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेका कारणसमेत शेयर बजारमा पुँजी भित्रिएको आकलन छ । बैंकको निक्षेपमा पाउने ब्याज भन्दा शेयरमा पाइने प्रतिफल बढी हुने भएकाले शेयर बजारतिर लगानीकर्ता आकर्षित भएको शेयर बिश्लेषकहरुको भनाइ छ । ‘अहिले बजारमा बढ्दो तरलता र लगानी क्षेत्र अभावले मलजल गरेको छ’ एक बिश्लेषकले भने ।