नेशनल लाइफ इन्स्योरेन्स : खुद बीमा शुल्क आर्जन रु. ८.६९ अर्ब, नाफा कति ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार।
 नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ६९ करोड रुपैयाँ बढी खुद बीमा शुल्क आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ५३.५८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीको बीमा शुल्क आर्जन ५ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १९ प्रतिशतले बढेर २ अर्ब १३ करोड रुपैयाँमा भएको छ। गत वर्ष यस्तो आय १ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिमा कम्पनीको दाबी भुक्तानी ५२.२१ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो भुक्तानी १ अर्ब ८६ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च ५९.४३ प्रतिशत बढेर ७१ करोड २२ लाख रुपैयाँमा भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ४४ करोड ६७ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढाएर ४० अर्ब २१ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष यस्तो कोषमा ३१ अर्ब ५२ करोड रुपैयाँमा सीमित थियो। गत वर्षको यही अवधिसम्म ७६ करोड २४ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर ८१ करोड १७ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

तेस्रो त्रैमासमा कम्पनीको नाफा २.२० प्रतिशतले बढेर ३२ करोड २५ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ३१ करोड ५६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ९ लाख १७ हजार ९५० पुगेको छ। गत वर्ष यही अवधिमा यो संख्या ७ लाख ८४ हजार ३६६ रहेको थियो।

चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १२.६८ रुपैयाँ रहेको छ। पीई रेसियो ९१.०१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३२.०१ रुपैयाँ रहेको छ।

Skip This