जब हामी बैंकमा जान्छौँ, त्यहाँका कर्मचारी अस्तव्यस्त देखिन्छन् । उनीहरुलाई देखेर सोचिन्छ, ‘सबैभन्दा बढी काम हुने पेशा नै यही होला । आफ्नो अनि परिवारको लागि समय कसरी निकाल्छन् होला ?’ कोही रेसेप्सनमा, कोही काउन्टरमा व्यस्त । कोही भने हातमा विविध प्रकारका कागज लिएर दौडिरहेका देखिन्छन् । तर यो त आँखा अगाडिको व्यस्तता मात्र हो । यी कामको वास्तविक चाप त्यसलाई हुन्छ, जसले एउटा पूरै बैंकको जिम्मेवारी वहन गरिरहेको हुन्छ । एउटा संस्थाको जिम्मेवारी आफूमा आउँदा हरकोहीले इमान्दारीता भनौं या हिम्मतका साथ निभाउन भने सकेका हुँदैनन् ।
कोही काममा धेरै व्यस्त भएर परिवारबाट टाढिन पुग्छन् त कोही परिवारका लागि आफ्नो सपना नै त्याग्न । अझै महिलाहरुमा यस्तो कुराको प्रभाव बढी देखिन्छ । यी दुबै कुराको सन्तुलन मिलएर खुशी जीवन बिताइरहेका महिला नेतृले गर्दा कैयौ महिला आफूलाई पनि ठूलो पदमा देख्न चाहन्छन् र त्यसैअनुरुप आफूलाई स्थापित गर्न तयार हुन्छन् । यसरी नै विगत डेढ महिनादेखि एनएमबि बैंकको बल्खु शाखासँगै आफ्नो परिवारको जिम्मेवारीलाई पनि निरन्तर एउटै लयमा लगिरहेकी एक साहसी महिला हुन्, कमला अधिकारी पौडेल । उनले १४ वर्षको आफ्नो बैंकिङ्ग करियरमा न काम गर्ने संस्थालाई कहिल्यै निरास पारिन्, न आफ्नो परिवारलाई ।
दुई सन्तानकी आमा समेत बनिसकेकी कमलाका कुरा सुन्दा उनी पैसाको मात्र होइन, प्रेमको हिसाबमा पनि अब्बल छिन् जस्तो लाग्छ । प्रेम केवल आकर्षण मात्र नभई यो एउटा उत्प्रेरणा र उत्साहको विरुवा भएको उनको भनाइ छ । सानैबाट लक्ष्यप्रति केन्द्रित रहेकी उनमा ‘एकै नजरमा माया बसेछ’ भन्ने गीतको प्रभाव पनि कहिल्यै परेन तर १९ वर्षको कलिलै उमेरमा विवाह बन्धनमा बाँधिएका कारण आफ्नो श्रीमान कुनै प्रेमीभन्दा कम नभएको उनी बताउँछिन् । भन्छिन्, ‘विवाह गर्ने सोच नै नबनाएकी मैले प्रस्ताव आइसकेपछि भेट्न जाने बाध्यता आइलाग्यो । गएँ पनि । उसै चकचके स्वभाव, मन पराउनु हुन्न होला भनेर बोलेको बोल्यै गरे । तर लगन जुर्नु रैछ र विहे भयो ।’
आफूभन्दा सात वर्षले जेठो केटासँग आफ्नो स्वभाव नमिल्ला कि भन्ने भ्रममा रहेकी कमलाले कर्मघरमा सासुससुराबाट एउटा छोरी सरह र श्रीमानबाट इमान्दार साथी सरह पाएको साथले प्रेमलाई सफलताको सुत्रको रुपमा बुझेकी छिन् । भन्छिन्, ‘काम गरेर पैसा कमाएर आफ्नो खुट्टामा उभिन सक्नु राम्रो कुरा हो । तर उभिन कसले कसरी सिकायो भन्ने कुराको महत्व पनि बुझ्नुपर्छ ।’ प्रेमीप्रेमीका वा श्रीमानश्रीमतिको सकारात्मक सुझावले मान्छेलाई संर्घर्षको जुनसुकै मैदानमा पनि उत्रिने सक्ने आट मिल्ने उनको भनाइ छ । ‘मन नहुँदानहुदै पनि तिम्रो सपनालाई मर्न दिन्नौँ भन्ने बाचाकासाथ बिहे गरेको थिए । त्यस्तै भयो ।
स्नातक सकेँ । घरमा बेबी प्लानको कुरा चल्यो । छोरी र छोरा भए’, उनले भनिन् । दुई जना सन्तानलाई हुर्काउँदा बीचमा उनको अध्ययनमा पनि रुकावट आएको उनी बताउँछिन् । भन्छिन्, ‘स्नातक सकेर दुईटा बेबी भएसी उनीहरुलाई हुर्काउनै ठीक्क हुन्थ्यो । बीचमा १० वर्षको ग्याप भइसकेको थियो ।’ तर परिवारसँगसँगै अध्ययनलाई पनि निरन्तरता दिनुमा आफ्नो दाईको प्रेरणाले महत्वपूर्ण भूमिका खेलेका उनको भनाइ छ । ‘हरेक वर्ष दशैँमा टीका लगाउँदा दाईले डिग्री गरेको देख्न पाउँ’ भन्दै आर्शीर्वाद दिने । सँगै घरबाट सबैले डिग्री त गर्नैपर्छ भनेपनि लामो समयको ग्यापपछि जोइन गरे ।’ आफूले मारिसकेको इच्छालाई परिवारबाटै मिलेको हौसलाले पुनः जीवित गर्ने आँट मिलेको उनको भनाइ छ ।
त्यही आँटले छोराछोरीलाई प्राथमिक शिक्षाका लागि पाठशाला जान सक्ने बनाएर उनले जन–प्रशासन (एमपीए) विषयमा भर्ना भएर दुई वर्षे स्नातकोत्तरको पढाई पनि सकिन् । योसँगै सन् २०१० देखि बैंकको केन्द्रिय कार्यालय बबरमहलमा सेयर डिपार्टमेन्टबाट बैंकिङ्ग करियर शुरु गरेकी उनले प्रेमलाई सौभाग्यको रुपमा पनि लिन्छिन् । भन्छिन्, ‘आफू कमजोर हुँदा आफ्नो तागत बन्न सक्ने र बाटो बिराउँदा सही बाटो देखाउने साथी हुनुपर्छ । सँगै आफूप्रति विश्वास पनि हुनुपर्छ । गन्तव्यमा पुग्न कसैले रोक्दैन ।’ प्रेममा विश्वास पनि हुनुपर्ने उनको भनाइ छ । वर्तमान समाजका आधुनिक युवामा प्रेमबारे गलत बुझाई रहेको पनि उनी बताउँछिन् । भन्छिन्, ‘अहिले चलिरहेको प्रेम सप्ताहमा साना–साना नानी बाबुले एक अर्काप्रति आकर्षित भएर प्रेम प्रस्ताव राखिरहेका हुन्छन् । जबकी वास्तविक प्रेम के हो भनेर बुझ्न मानिस पहिले परिपक्व हुनुपर्छ, उमेरमा पनि र व्यवहारमा पनि ।’
तेस्रो शताब्दीमा रोमबाट शुरु भएको प्रेम दिवसले पछिल्लो समय विदेशीमा मात्र नभई नेपाली समाजका किशोरकिशोरी, युवायुवती भनौ अथवा हरेक उमेरसमहुमा भिन्नै छाप छोडिरहेको छ । रोड डे, प्रपोज डे, चकलेट डे, टेडी डे, हग डे, किस डे र भ्यालेनटाइन डे भनेर साप्ताहिक रुपमै एउटा पर्वको रुपमा यसलाई मनाइरहेका छन् । तर आफ्नो खुसी जीवनका लागि प्रेम आवश्यक परे पनि प्रेम दिवस भने त्यत्ति आवश्यक नपर्ने भनाइ बल्खु शाखाकी प्रबन्धक (ब्रान्च म्यानेजर) कमलाको छ ।
एउटा ब्रान्चको म्यानेजर पदमा रहेर आफ्नो काम र व्यक्तिगत जीवनलाई सधैँ एकनासले अघि बढाइरहेकी कमला भन्छिन्, ‘मेरो लागि हरेक दिन प्रेम दिवस हुन्छ । प्रेमका लागि कुनै समय तोकिनुपर्छ मलाई लादैन ।’ एउटा बैंकरको जीवनमा पनि प्रेमभावले धेरै नै महत्व राख्ने उनको भनाइ छ । आफूलाई सधैँ सकारात्मक तरिकाले प्रस्तुत गर्न रुचाउने कमला भन्छिन्, ‘परिवार मात्र होइन एउटा संस्थालाई बलियो तरिकाले प्रस्तुत गर्न नेतृत्व गर्ने मान्छेले थरिथरिका भूमिका निर्वाह गरिरहनुपर्छ । कुनै बेला प्रेमको पनि आवश्यकता पर्छ र कुनै बेला रीसको पनि ।’
बैंकिङ्ग क्षेत्रमै रहेर यसैमा सकेको योगदान पुर्याउने सपना बोकेकी कमलाले बबरमहल मात्र होइन, ठैब शाखा, न्यूरोड र थापाथली शाखामा विवध भूमिकामा रहेर काम गरिसकिन् । अहिले सात जना महिला मात्रै कर्मचारी भएको बैंकको प्रतिनिधित्व गरिरहेकी उनी आफ्नो व्यस्त बैंकिङ्ग जीवनमा मीठास ल्याउन परिवारसँग समय व्यतित गर्न रुचाउँछिन् । उनका लागि प्रेमको अर्को परिभाषा नै परिवारको साथ हो ।





About Us
प्रतिक्रिया