नेपालका तयारी पोशाक व्यवसायीहरुले अमेरिकाको सोर्सिङ एट म्याजिक—२०२४ मा सहभागिता जनाउने


काठमाडौं – नेपालका तयारी पोशाक व्यवसायीहरुले संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक —२०२४ मा सहभागिता जनाउने भएका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैँ नेपाल तयारी पोशाक उद्योग संघले भेगासमा हुने सोर्सिङ एट म्याजिक —२०२४ मा सहभागिता जनाउन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाण्डेले हरेक वर्ष नेपालले मेलामा सहभागिता जनाउँदै आएको र यस वर्ष पनि सहभागिता जनाउन शुक्रवार अमेरिका जाने बताएका हुन् । उनले सहभागिता जनाउनका लागि सरकारले २५ लाख रुपैयाँ दिएको र सो रकम स्टलका लागि मात्रै खर्च गर्न पाउने प्रावधान रहेको समेत बताए ।

मेलामा सहभागी हुन ६ सदस्यीय टोली अमेरिका जान लागेको हो । पशुपतिदेव पाण्डेको नेतृत्वमा रहेको टिममा वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिव भट्ट, सुरेशमान श्रेष्ठ र गणेशराज पाण्डे छन् । सहभागिताका लागि स्टल भाडाबापत ३४ हजार ७५० डलर पठाएको संघले बताएको छ ।

संघका अध्यक्ष पाण्डेले भने , ‘हामी हरेक वर्ष यो मेलामा सहभागी हुन जान्छौँ । हामी लागत सहभागितामा जान्छौँ । नेपाल सरकारले दिएको पैसा स्टल बापतमा मात्रै खर्च गर्नुपर्ने प्रावधान रहेको छ । यसमा हाम्रो अहिले ६ सदस्यीय प्रतिनिधि मण्डल जाँदैछ । यो मेलाको नाम सोर्सिङ एट म्याजिक हो । हामी भोलि जानेछौँ । लस भेगस शहरको कन्फ्रेन्स हलमा हुन्छ । पियोर क्लोथिङ, हिमलयल कटन एण्ड फेशन, वसन्तराज अधिकारी, थोमनाथ बस्याल, शिवशक्ति गार्मेण्टबाट शिव भट्ट, झाम्पा नेटिङबाट सुरेशमान श्रेष्ठ, सेतीदेवी एक्सपोर्टबाट गणेशराज पाण्डे जाँदै हुनुहुन्छ । यसमा सरकारले २५ लाख रुपैयाँ दिएको छ, स्टल भाडाबापत ३४ हजार ७५० डलर पठाएका थियौँ । ९३ लाख खर्च हुने अनुमान छ ।’

उनीहरुले नेपाल तयारी पोशाक उद्योग संघसंग आवद्ध सदस्य उद्योगीहरुले सञ्चालन गर्न नसकेका रुग्ण उद्योगलाई पुनः सञ्चालन गर्न चाहेमा त्यस्ता उद्योगलाई नेपाल सरकारले रुग्ण उद्योग सरहको मान्यता दिई तदनुरुप सेवा, सुविधा प्रदान गरिनुपर्ने माग गरेका छन् । (न्युज एजेन्सी नेपाल)