थप एक पुनर्बीमा कम्पनी खोल्न लाइसेन्स दिइने, समितिले माग्यो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार ।  
बीमा समितिले थप एक पुनर्बीमा कम्पनी संचालनका लागि अनुमति दिने भएको छ। समितिले बिहीबार सार्वजनिक सूचनामार्फत प्रस्ताव आह्वान गरेको छ। 

निजी क्षेत्रबाट एउटा मात्रै पुनर्बीमा कम्पनीलाई अनुमति दिने प्रस्तावमा उल्लेख छ। समितिले अबको २१ दिनभित्र पुनर्बीमा कम्पनी संचालनका लागि प्रस्तावक व्यक्ति वा संस्थाको नाम, ठेगाना स्पष्ट खुल्नेगरी प्रस्ताव पठाउन आग्रह गरेको छ। हाल एक मात्र नेपाल पुनर्बीमा कम्पनी संचालनमा छ। पुनर्बीमा कम्पनीका लागि चुक्ता पुँजी कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। 

जसमा संस्थापकको तर्फबाट न्यूनतम ५१ प्रतिशत र बढीमा ७० प्रतिशतसम्म पुँजी जुटाइनेछ। बाँकी कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिएर पुँजी जुटाइन्छ। प्रस्तावकले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो प्रस्ताव अस्वीकार हुनेछ। पुनर्बीमा कम्पनी संचालनमा लागि समितिमा आएका प्रस्तावमध्ये मूल्याङ्कन गरी उत्कृष्ट एउटालाई छनौट गरिनेछ। यसअघि समितिमा दर्ता भएका प्रस्तवहरु रद्द भएको छ। अब प्रस्तावकले फेरि प्रस्ताव दर्ता गर्नुपर्नेछ। 

हाल चार कम्पनी काठमाडौं रिइन्स्योरेन्स, अन्नपूर्ण रिइन्स्योरेन्स, जेन्यून रिइन्स्योरेन्स र प्रुडेन्सियल रिइन्स्योरेन्सले लाइसेन्स लिन आवश्यक तयारी गरिरहेका छन्।  हालको एक मात्र पुनर्बीमा कम्पनीमा सरकारको सेयर हिस्सा ४४ प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत। बाँकी करिब ४० प्रतिशत स्वामित्व विभिन्न संघसंस्था र बीमा कम्पनीहरूको छ। 

जीवन र निर्जीवन गरी हाल भएका ३९ बीमा कम्पनीले जति रकमको पुनर्बीमा गर्छन्, त्यसको कम्तीमा २० प्रतिशत स्वदेशी पुनर्बीमा कम्पनीमै गर्नुपर्ने बाध्यकारी व्यवस्था छ। एकातिर निश्चित प्रतिशत स्वदेशकै कम्पनीमा पुनर्बीमा गर्नुपर्ने बाध्यकारी व्यवस्था, अर्कोतिर सरकारी स्वामित्वको एउटा मात्रै कम्पनी खुलेपछि निजी क्षेत्रले आपत्ति जनाउँदै आएको थियो। 

अब २१ दिनभित्रमा इच्छुक कम्पनीले प्रस्ताव पठाउनेछन्। प्रस्ताव पठाइसकेपछि बीमा समितिले मूल्यांकनका आधारमा सबैभन्दा राम्रो ठानिएको कम्पनीलाई लाइसेन्स दिनेछ।