म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीय र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण तथा व्यवस्थापन भएपछि सो मुहान उपचार, स्नान र मनोरञ्जनस्थलका रुपमा विकास भएको हो ।
कालीगण्डकी नदी किनारमा रहेको तातोपानीको मुहानलाई संरक्षणका साथै व्यवस्थित बनाएपछि पर्यटकीय र प्राकृतिक उपचारस्थलका रुपमा विकास हुन थालेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
‘तातोपानीको मुहानलाई कालीगण्डकीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण, डुबुल्की मारेर स्नान गर्ने सुविधाका लागि व्यवस्थित पोखरी, टहरा, विश्रामस्थल बनाइएको छ’ , उनले भने, ‘रातोपानी संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पछिल्लो पाँच वर्षयता ५० लाख रूपैयाँभन्दा बढी लगानी गरेको छ, समुदाय र दाताले पनि सहयोग गरेका छन् ।’
बेनी–जोमसोम सडकको छेउमा प्रतिसेकेण्ड ११ लिटरका दरले ५६ डिग्रीको तातोपानी निस्कने मुहान छ । मुहानबाट निस्किएको पानीलाई पोखरीमा सङ्कलन गरी एक पटकमा ४० देखि ५० जनाले स्नान गर्नसक्ने क्षमताको १०/१० मिटर लम्बाइ र चौडाइ भएको पोखरी बनाइएको छ ।
पक्की पर्खाल बनाएर संरक्षण गरिएपछि तातोपानीको मुहान र पोखरी कालीगण्डकीको कटानबाट सुरक्षित भएको छ । टहरा र विश्रामस्थल भएपछि स्नान गर्नका लागि घामपानीले असर गर्दैन । पहिले नदी किनारको खुला ठाउँको पोखरीमा स्नान गर्दा व्यवस्थित थिएन । उपचारका लागि आउने सर्वसाधारण र स्नान गर्ने पर्यटकलाई सहज भएको कुण्ड सञ्चालनका लागि गाउँपालिकाबाट अनुमति पाउनुभएका खिलराज बरुवालले बताए । ‘यो तातोपानी कुण्ड गरिबका लागि अस्पताल बनेको छ ’, उनले भने, ‘व्यवस्थित भएसँगै उपचार र जाडो याममा तातोपानीमा स्नान गरेर मनोरञ्जन लिने दुवैथरी मानिसको आगमन बढेको छ ।’
बरुवालले गाउँपालिकालाई रु एक लाख राजस्व तिरेर चालु आर्थिक वर्षका लागि कुण्ड सञ्चालनको अनुमति लिनुभएको छ । उहाँका अनुसार दैनिक एक सय जना जति स्नानका लागि आउने गर्छन् । पाहुना र पर्यटक आगमनसँगै रातोपानी, पोखरेबगर र ठूलोबगरको व्यवसाय प्रर्वद्धन भएको छ ।
चोटपटक लागेको, बज्रिएको, ग्यास्ट्रिक र चिसोका कारण उत्पन्न स्वास्थ्य समस्याबाट पीडित बिरामी तातोपानीमा डुबुल्की मारेर स्नान गर्न आउँछन् । युरिक एसिडबाट थलिएका अन्नपूर्ण–७ औलका रिमबहादुर पुर्जाले तातोपानीमा स्नान गरेपछि निको भएको अनुभव सुनाए ।
‘पाँच वर्षअघि मलाई यहाँ स्नानका लागि परिवारका सदस्यले बोकेर ल्याएका थिए’, उनले भने , ‘२१ दिन स्नान गरेपछि युरिक एसिड निको भयो, आफैँ हिँडेर घर गए, त्यसपछि हरेक वर्ष हिउँदयाममा स्नानका लागि रातोपानीको तातोपानीमा आउने गरेको छु ।’ पोखरा, काठमाडौँ, चितवन, मुस्ताङ र म्याग्दीका विभिन्न ठाउँबाट स्नान गर्ने व्यक्ति आउने गरेको बताइएको छ ।
सर्वसाधारणले कुण्डमा पूर्वाधार निर्माणमा पनि सघाएका छन् । अन्नपूर्ण–६ घोडेपानीका ममता गर्बुजाले करिब एक लाख ५० हजार रुपैयाँ खर्च गरेर सडकदेखि पोखरीसम्म पुग्ने रेलिङसहितको पदमार्ग बनाइदिनुभएको वडाध्यक्ष खड्काले बताए ।
चिसो याममा तातोपानीमा शरीर डुबाएर स्नान गर्दाको छुट्टै आनन्द हुने बताइन्छ । बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने आउने पर्यटक पनि कुण्डमा स्नान गर्न आउन थालेका छन् । सात दिन स्नान गर्दा तीन सय ५० रूपैयाँ र एकपटक स्नान गर्न ३० रूपैयाँ शुल्क तोकिएको छ ।
तातोपानीको पोखरी नजिकै कपडा फेर्ने ठाउँ, अर्को मुहानमा धारा र सार्वजनिक शौचालय बनाउने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए । उनका अनुसार सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षमा आठ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
गत वर्ष प्रदेश सरकारको पाँच लाख रूपैयाँ अनुदानमा पोखरी परिसरमा विश्रामका लागि पनि प्रयोग गर्न सकिने गरी सिँढी निर्माण गरिएको थियो । बेनी–जोमसोम सडकको नजिकै भएको कुण्डको प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन पहल गरिएको अध्यक्ष पुनले बताए । ( रासस)
प्रतिक्रिया