बैकिङ्ग समाचार ।
चैत ३० गतेसम्म ६० हजार ५८७ जनाले कोरोना बीमावापतको दावी रकम बुझेका छन्। बीमा समितिका अनुसार उनीहरुले कुल ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ रकम लिएका हुन्।
१९ निर्जीवन बीमा कम्पनीहरुले संयूक्त रुपमा ‘पुल’मार्फत कोरोना बीमा संचालनमा ल्याएका थिए। बीमा गरिसकेपछि संक्रमित हुनेलाई लक्षित गर्दै बैशाख ७ गतेदेखि संचालनमा आएको कोरोना बीमा योजनाबाट थप करिब ५१ हजारले रकम पाउने छन्।
हालसम्म कुल ९१ हजार ६७३ जनाको आवेदन प्रमाणित भएको समितिले जनाएको छ। थप ५१ हजारलाई रकम भुक्तानी गर्दा थप ४ अर्बभन्दा बढी रकम लाग्नेछ। अबको सबै रकम सरकारले ब्यहोर्नेछ।
१ अर्ब निर्जीवन बीमा कम्पनीहरुले, १ अर्ब नेपाल पुनर्बीमा कम्पनीले, ५० करोड बीमकको महाविपत्ती पुलले, १ अर्ब बीमा समितिले खर्च ब्यहोरेका छन्। साढे ३ अर्ब रुपैयाँ यसरी जुटे पनि बाँकी रकम नेपाल सरकारले ब्यहोर्नेगरी मापदण्ड तयार भएको थियो। तर सरकारले समयमै भुक्तानी नदिँदा सर्वसाधारणले दावी भुक्तानी पाउन ढिला भएको छ।
कोरोना बीमा भुक्तानी सम्वन्धी मापदण्डमा साढे ३ अर्बभन्दा बढी रकम भुक्तानी नेपाल सरकारले व्यहोर्ने उल्लेख छ। सो रकम अर्थबाट एकमुष्ट रुपमा आउन नसकेपछि थप भुक्तानी हुन नसकेको बीमक संघले जनाएको छ।
कोरोना बीमाले सर्वसाधारणमा बीमाबारे सचेतना बढाएको बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले बताए। ‘कोरोना बीमाले वास्तवमा बीमाको दायरलाई बढाउन टेवा पुग्यो’ उनले भने ‘यसबाट तत्काललाई बीमा कम्पनीलाई फाइदा नभए पनि दीर्घकालीन रुपमा यसले फाइदा नै दिन्छ।’
संक्रमण दर घटे पनि हाल संक्रमणको त्रास हटिसकेको छैन। नेपालमा पनि दोस्रो लहर फैलिन सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले चेतावनी दिइरहेका छन्। दोस्रो लहर फैलिए पनि अब कोरोना बीमाको व्यवस्था भने नहुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
‘योजना समाप्त भएपछि अब कुनै पनि कोरोना बीमाका योजना आउँदैनन्।’ असार मसान्तपछि सबै कोरोना बीमाको योजना स्वतः समाप्त हुनेछन्। अर्थात असार मसान्तपछि संक्रमित भए पनि बीमा गरेकाले रकम पाउने छैनन्।
प्रतिक्रिया