लामो अनुसन्धानपछि मात्रै अरुण चौधरीलाई पक्राउ गरिएको होः सिआईबी


काठमाडाैं – नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको आधारमा पक्राउ गरिएको बताएको छ।

शुक्रवार सिआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरी लगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको बताएको हो।

सिआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले २०५२ साल साउन ११ गते च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएको प्रमाण भेटिएको जानकारी दिए ।

उनले च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुण चौधरीको नाममा आएपछि तत्कालिन च्याम्पियन फुटवेयर लिमिटेडलाई २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको देखिएको बताए।

उनले चौधरीले २०५४ पौष ४ मा च्याम्पियन फुटवेयर लिमिटेडलाई  च्याम्पियन फुटवेयर प्राइभेट लिमिटेडमा दर्ता भएपछि तत्कालिन सरकारको अधिनमा रहेको जग्गा व्यक्तिको नाममा गएको बताए । उनले त्यसपछि च्याम्पियन फुटवेयर प्रा.लि.को नाम पनि परिवर्तन गरेर सिजी चाँदबाग रेसिडेन्सी प्रा.लि. राखिएको बताए।

उनले बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिक रूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको भए पनि त्यस्तो नभएको देखिएको बताए।

उनले भने, ‘बाँसबारीस्थित बाँसवारी जाला जुत्ता कारखानामा रहेको सरकारी १८ रोपनी जग्गा मध्येबाट १० रोपनी जग्गा हिनामिना भएको सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान गरी पक्राउ गरेको सम्बन्धमा तत्कालन श्री ५ को सरकारको नाममा १८ रोपनी जग्गा थियो। तत्कालिन सरकारले निर्णय गरेर बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो।’ जुत्ता कारखाना स्थापना गरेर आफ्नो शेयरअनुसार लगानी र सर्वसाधरणलाई शेयर निष्कासन नगरी बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा र बाँकी ८ रोपनी जग्गा पनि लिने उद्देश्य देखिन्छ। लामो समय अनुसन्धान गरेर पक्राउ गरिएको हो।’ (न्युज एजेन्सी नेपाल)