पाँच शाखासहित काठमाडौं आइपुग्यो शाइन रेसुंगा बैंक 

पाँच शाखासहित काठमाडौं आइपुग्यो शाइन रेसुंगा बैंक 


बैकिङ्ग समाचार ।

बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैपटक पाँचवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकका अध्यक्ष स्थानेश्वर पौडेलले राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित समारोहका बीच औपचारिक उद्घाटन गरे । बैंकले आक्रामक शैलीमा नयाँबानेश्वर, कलंकी, न्युरोड, गोंगबु र महाराजगन्जमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको शाखासंख्या ८० पुगेको छ ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष पौडेलले स्थापनाको १००औँ दिनमा अर्घाखाँचीमा पहिलो शाखा विस्तार गरेको स्मरण गरे । एउटा शाखाबाट सुरु भएको बैंक राष्ट्रियस्तरमा स्तरोन्नति भई ८०औँ शाखामार्फत सेवा दिने अवस्थामा पुग्नुमा बैंकको सञ्चालक समिति, व्यवस्थापन पक्ष, प्रमुख कार्यकारी अधिकृत, कर्मचारीसँगै आम ग्राहक वर्गको समेत उत्तिकै योगदान रहेको उनले बताए । ‘नेपाल सरकारले समृद्ध नेपालको परिकल्पमा गरेर अगाडि बढिरहेको सन्दर्भ छ, हामी अहिले समृद्धिको यात्रामा छौं,’ अध्यक्ष पौडेलले भने, ‘त्यो समृद्धिको यात्रालाई वित्तीय क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामीले आफ्ना गतिविधि अगाडि बढाउँदै आएका छौँ ।’

\"\"अध्यक्ष पौडेलले शाइन रेसुंगा बैंकले ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै वित्तीय सेवा दिँदै आएको बताए । बैंकको शाखासञ्जाल सहरी क्षेत्रमा करिब १५ प्रतिशत, अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत रहेको उनले जानकारी दिए । उनले ग्रामीण अर्थतन्त्रलाई केन्द्रीय वित्त प्रणालीसित जोड्न सके मात्र समृद्धिको सपना पूरा हुन सक्ने महसुस गरी शाइन रेसुंगा बैंक काठमाडौं प्रवेश गरेको बताए । काठमाडौंको तीव्र प्रतिस्पर्धामा शाइन रेसुंगा खरो उत्रिन सफल हुने विश्वास उनले व्यक्त गरे ।

सामाजिक उत्तरदायित्वअन्तर्गत १२औँ वार्षिकोत्सवका अवसरमा प्रविधिको पहुँचविस्तार हुन नसकेका विद्यालयहरूमा बैंकले १२ वटा डिजिटल कक्षाकोठा निर्माण गरिदिने उनले बताए । त्यसैगरी, मानवताप्रतिको सकारात्मक सोच विकास र जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले १२ हजार रुख रोप्ने प्रतिबद्धता उनले जनाए ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी निर्देशक प्रकाश पौडेलले संस्थाको विकासक्रमको जानकारी गराए । उनले स्थापनाको १२ वर्षको अवधिमा तीन जिल्ला कार्यक्षेत्रबाट सुरु भएको बैंक हाल राष्ट्रव्यापी रूपमा सेवाविस्तार गर्न सफल भएको बताए । बैंकले ३३ अर्बभन्दा बढी निक्षेप संकलन गरेको र ३० अर्बभन्दा बढी कर्जा प्रवाह गरेको उनले जानकारी दिए । स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर वित्तीय सेवा दिँदै आएको स्मरण गराउँदै उनले बैंकको हाल ग्राहकसंख्या ४ लाखभन्दा बढी भएको जानकारी दिए । सिइओ पौडेलले बैंकले सेवाग्राहीको अपेक्षा शतप्रतिशत पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैंकले गोंगबु र महारजगन्जका शाखा आइतबार (आज) देखि सञ्चालनमा ल्याएको हो । कलंकीको शाखा भने ५ फागुनदेखि नै सञ्चालनमा रहेको बैंकले जानकारी दिएको छ । त्यसैगरी, नयाँबानेश्वर र न्युरोडका शाखाले फागुन अन्तिम सातादेखि नै वित्तीय सेवा दिइरहेका छन् । यद्यपि, यी सबै शाखाको औपचारिक उद्घाटन भने एकैसाथ गर्न लागिएको बैंकले जनाएको छ । केही दिनअघि मात्र बैंक सुदूरपश्चिमको कैलालीमा समेत विस्तारित भएको थियो ।

बैंकले ८० शाखा कार्यालय र एक एक्स्टेन्सन काउन्टरमार्फत ४ लाख ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । बैंकले डिजिटल बैंकिङ र वित्तीय साक्षरतालाई प्राथमिकता दिएको सिइओ प्रकाश पौडेलको भनाइ छ । प्रतिवर्ष लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको बैंकको हालको चुक्तापुँजी करिब ४ अर्ब छ ।

राष्ट्रियस्तरको मजबुत विकास बैंक बन्न शाइन रेसुंगाले लामो आरोह–अवरोह पार गरेको छ । ११ फागुन २०६५ मा रूपन्देहीमा स्थापित शाइन विकास बैंक र गुल्मीको रेसुंगा विकास बैंकबीच मर्जर सम्पन्न भई ४ चैत २०६९ मा शाइन रेसुंगा नामले यो बैंकले एकीकृत कारोबार सुरु गरेको हो । त्यसपछि २०७३ जेठमा प्युठानको गौमुखी विकास बैंकलाई आफूमा मर्ज गराएपछि बैंक थप मजबुत बन्यो । त्यसपछि राष्ट्रियस्तरमा सेवा विस्तार गर्ने क्रममा बैंकले एकैसाथ रूपन्देहीको पूर्णिमा विकास बैंक र नेपालगन्जको भार्गव विकास बैंकलाई आफूमा गाभ्यो ।

सिइओ पौडेलको नेतृत्वमा व्यवसायको गुणात्मक तथा परिमाणात्मक दुवै पक्षको विकासमा आक्रामक ढंगले फैलिरहेको शाइन रेसुंगा बैंकले यसपटक भने राजधानीका प्रमुख पाँच क्षेत्रमा एकैपटक सेवाविस्तार गरेको हो । पौडेलकै नेतृत्वमा बैंक राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको हो । राष्ट्र बैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाका रूपमा इजाजतप्राप्त यो बैंकले ११ फागुनमा बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा नवनिर्मित आफ्नै भवनमा केन्द्रीय कार्यालय सारेको छ ।