कुमारी बैंकको ब्याज आम्दानी ३५ प्रतिशत बढ्यो, खुद नाफा साढे ८६ करोड


काठमाडौं– कुमारी बैंकको ६ महिनामा खुद ब्याज आम्दानी ३५ प्रतिशतले बढेको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/ २०८१ को दोस्रो त्रैमासिक वित्तिय विवरणमा बढेको देखिएको हो । यस अवधिमा बैंकले साढे ८६ करोड खुद नाफा कमाएको छ।

समिक्षा अवधिमा बैंकले ८६ करोड ७२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको देखिन्छ । तर, बैंकको यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने १.३१ प्रतिशत कमी हो। गत आवको सोही अवधिमा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

तर, बैंकको खुद ब्याज र कुल संचालन आम्दानी भने बढेको छ। समिक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ७६ करोड ६० लाख रुपैयाँ पुगेको छ । यस्तो चार्ज बढेपछि बैंकको खुद नाफा प्रभावित भएको हो।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३५ प्रतिशतले बढेको छ। सो अवधिमा बैंकको यस्तो आम्दानी ५ अर्ब ७२ करोड ५३ लाख रुपैयाँ कायम भएको छ। कुल संचालन आम्दानी पनि ४५.२७ प्रतिशत बढेर ७ अर्ब २५ करोड ४० लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको संचालन नाफामा भने सामान्य गिरावट आएको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५.०८ प्रतिशत घटेर १ अर्ब ४९ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

बैंकको वितरण योग्य नाफा पनि ऋणात्मक देखिएको छ। समिक्षा अवधिमा बैंकको यस्तो नाफा ३ अर्ब ७७ करोड १८ लाख रुपैयाँ ऋणात्मक देखिएको हो। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ पुगेको छ। बैंकले जगेडा तथा कोषमा पनि ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ राखेको छ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन ०.८६ प्रतिशत र कर्जा लगानी १.६६ प्रतिशत बढेर क्रमशः ३ खर्ब १८ अर्ब ७६ करोड ५७ लाख र २ खर्ब ७५ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ७७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ। त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २४.११ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ८२ पैसा रहेको छ।

२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब १८ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।