फागुनको पहिलो साता पनि बैंकहरूको ऋण प्रवाह ह्वात्तै बढ्यो

फागुनको पहिलो साता पनि बैंकहरूको ऋण प्रवाह ह्वात्तै बढ्यो


बैकिङ्ग समाचार । 

फागुनको पहिलो साता पनि बैंकहरुमा संकलन भएको निक्षेपभन्दा कर्जा प्रवाह धेरै देखिएको छ।

फागुन १ देखि ७ गतेसम्म १८ अर्ब निक्षेप संकलन हुँदा १३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार फागुन ७ गतेसम्म २७ वाणिज्य बैंकहरुमा स्थानीय र वैदेशिक मुद्रा गरी कुल ३७ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

जवकि माघ ३० गतेसम्म ३७ खर्ब ८६ अर्ब संकलन भएको थियो। 

त्यस्तै फागुन ७ गतेसम्म ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। जवकि माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब रुपैयाँ प्रवाह भएको थियो। 

पछिल्ला साता बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढेको छ। जसकारण लगानीयोग्य रकम टाइट हुने संकेत देखिएको छ।

तरलता टाइट हुने संकेत 

यही दरमा ऋण विस्तार हुँदै गएमा २र३ महिनामै तरलता टाइट हुनसक्ने विज्ञहरु बताउँछन । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम पर्याप्त) हुँदा विभिन्न माध्यममार्फत राष्ट्र बैंकले खिचेर व्यवस्थापन गर्ने काम गर्छ। राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टका अनुसार हाल बैंकिङ प्रणालीबाट ५१ अर्ब रुपैयाँ खिचेर राखिएको छ। यो रकम क्रमिक रुपमा समयावधिसँगै पुनः बैंकिङ प्रणालीमा जान्छ।

राष्ट्र बैंकमा रहेको ५१ अर्ब रुपैयाँ बाहेक सोमबारसम्म ६२ अर्ब ७१ करोड रुपैयाँ अधिक तरलता रहेको भट्टले जानकारी दिए। तरलता टाइट हुँदा यसको सबैभन्दा ठूलो असर ब्याजदरमा पर्दछ। बैंकहरुले प्रवाह गरेको ऋणमा ब्याजदर बढ्न जानेछ। त्यसले उद्योग व्यवसायीलाई उत्पादन लागत महँगो पर्न जानेछ।

एकातिर स्वदेशी उत्पादन नै महँगो हुन गई विदेशीसँग प्रतिस्पर्धा गर्न नसक्ने र अर्कोतर्फ उपभोक्तालाई मूल्यवृद्धिको मार थपिन जान्छ।