तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट २० अर्ब खिच्दै राष्ट्र बैंक


काठमाडौं- तरलता व्यवस्थापन गर्न कै लागि नेपाल राष्ट्र बैंकले आज (पुस २६ गते) थप २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको छ। पुसमा यो दसौंपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ ४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

अन्तरबैंक ब्याजदर ३ प्रतिशत मुनि रहँदासम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्नुपर्ने हुन्छ। पुस २३ गतेसम्मको तथ्यांक हेर्दा अन्तरबैंक ब्याजदर २.६८ प्रतिशतमात्रै रहेको छ।