कृषिमा बैंकको लगानी ११ प्रतिशत

कृषिमा बैंकको लगानी ११ प्रतिशत


बैंकिग समाचार काठमाडौं । 
वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा ११ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुससम्ममा ३६ खर्ब ५८ अर्ब रुपैयाँ ऋण प्रवाह गरेकोमा २ खर्ब ७१ अर्ब रुपैयाँ कृषि क्षेत्रमा गएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले २०८० असार मसान्तसम्म कुल कर्जाको १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेसँगै यस्तो कर्जा बढ्दै गएको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरूको कृषिमा लगानी २० प्रतिशतले वृद्धि भएको हो । गत आवको पुससम्म बैंकहरूको लगानी २ खर्ब १२ अर्ब भएको थियो । सरकारले आर्थिक वृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकता दिदै आएको छ । सोही अनुसार राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा ऋण प्रवाहलाई प्राथमिकता दिदै आएको छ ।

सरकारको प्राथमिकता र बजारमाँगका कारण कृषिमा बैंकहरूको लगानी वृद्धि हँुदै गएको बताउँछन् कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय । “एकातिर कृषिमा लगानी बढाउन राष्ट्र बैंकले बाध्यात्मक निर्देशन दिएको छ, अर्कोतिर व्यवसायीक कृषिमा आकर्षण वृद्धि भएकाले ऋणको माग पनि बढेको छ,” उनी भन्छन् । पछिल्लो समयमा ठूला व्यावसायिक घरानासमेत व्यावसायिक रुपमा कृषिमा आकर्षित भएकाले बैंकबाट कृषि ऋणको माग वृद्धि भएको उनले बताए ।

सरकारले बजेटमा घोषणा गरी कृषि व्यवसायको लागि बैंक तथा वित्तीय संस्थाहरूबाट ६ प्रतिशतको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कार्यक्रम अन्र्तगत ३३ हजार ८ सय १७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय किवी, ड्रागनफ्रुट जस्ता उच्च मूल्य भएका फलफुलका साथै तरकारी खेती, गाइपालन, माछापालन, बाख्रापालनमा व्यावसायिक रूपमा लाग्ने युवाहरू बढीरहेका छन् । संघिय सरकारबाहेक प्रदेश र स्थानिय तहले पनि व्यवसायीक कृषकलाई बैंक ऋणमा व्याज अनुदान दिने कार्यक्रम संचालन गरिरहेका छन् । 

कतिपय पालिका तथा प्रदेशहरूले विभिन्न बैंकसँग सम्झौता गरेर अनुदान कार्यक्रम संचालन गर्न थालेका छन् । सरकारले कृषकलाई दिने अनुदान बैैंकको व्याजमार्फत प्रदान गर्दा कृषकले सहुलियत व्याजदरमा ऋण प्राप्त गरेको र यसबाट बैंकहरूको लगानी समेत बृद्धि भएको छ । कृषि कर्जालाई वृद्धि गर्नका लागि राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत किसान क्रेडिट कार्ड जारी गर्ने प्रावधान समेत ल्याएको थियो । उक्त व्यवस्था अनुसार कृषि विकास बैंकले किसान क्रेडिट कार्ड सुरु गरेको छ । यसबाहेक निजी बैंकहरूले पनि किसान लक्षित गरी क्रेडिट कार्ड जारी गर्न थालेका छन् । कारोबार दैनिकमा प्रकाशित समाचार