काठमाडौं,
सर्वोत्तम सिमेन्ट लिमिटेडले भोलि पुस २५ गते बुधबारदेखि बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले उद्योग प्रभावित क्षेत्र नवरपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ९ लाख ३० हजार कित्ता निष्कासन गर्न लागेको हो। त्यसैगरी, कम्पनीले २ लाख ६७ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्नेछ।
कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुले छिटोमा माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिन पाउनेछन्।
प्रतिक्रिया