सेवा क्षेत्रमा प्रवाहित कर्जा ४.६५ प्रतिशतले बढ्यो

सेवा क्षेत्रमा प्रवाहित कर्जा ४.६५ प्रतिशतले बढ्यो


सुर्खेत-कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.६४ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अन्तर्गत कर्णाली प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

समिक्षा वर्षमा सेवा क्षेत्रमा प्रवाहित कर्जा ४.६५ प्रतिशतले वृद्धि भई ४८ अर्ब ४५ करोड ५८ लाख पुगेको छ भने गत वर्षमा यस्तो कर्जा १६.९३ प्रतिशतले वृद्धि भई ४६ अर्ब ३० करोड ७ लाख पुगेको थियो ।

त्यस्तै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आर्थिक वर्ष २०७९/८० को असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेप ११.८९ प्रतिशतले वृद्धि भई ६७ अर्ब ४९ करोड ९१ लाख पुगेको छ । गत वर्षमा यस्तो निक्षेप ५.४३ प्रतिशतले वृद्धि भई ६० अर्ब ३२ करोड ७८ लाख पुगेको थियो ।