१५ प्रतिशतले बढ्यो कोशी प्रदेशका वित्तीय संस्थाको निक्षेप

१५ प्रतिशतले बढ्यो कोशी प्रदेशका वित्तीय संस्थाको निक्षेप


विराटनगर -कोशी प्रदेशका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन २०७९ असार मसान्तको तुलनामा २०८० असार मसान्तमा १५ प्रतिशतले वृद्धि भई ४ खर्ब २१ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अन्तर्गत कोशि प्रदेशको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेप मध्ये झापा, मोरङ र सुनसरीको हिस्सा ७७.३ प्रतिशत रहेको छ भने अन्य जिल्लाको २२.७ प्रतिशत रहेको छ । जिल्लागत निक्षेप संकलनको आधारमा मोरङ जिल्लाको योगदान सबैभन्दा बढी ३१.५ प्रतिशत र तेह्रथुम जिल्लाको सबैभन्दा कम १.२ प्रतिशत योगदान रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिवेदनमा निक्षेप बढ्नुको प्रमुख कारणको रुपमा सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोवारमा भएको वृद्धि, तथा बैकिङ सेवा विस्तारलाई लिइएको छ ।

त्यस्तै, २०७९ असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) १४८.४ प्रतिशत रहेकोमा २०८० असार मसान्तमा यस्तो अनुपात १३२.३० प्रतिशत रहेको छ ।

त्यसैगरी, २०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कोशी प्रदेशमा परिचालन गरेको कुल निक्षेपमा चल्ती निक्षेपको अंश ८.२ प्रतिशत, बचत निक्षेपको अंश ३९.६२ प्रतिशत, मुद्दती निक्षेपको अंश ४६.३३ प्रतिशत र अन्य निक्षेपको अंश ५.८५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।