मधेश प्रदेशमा १३.२५ प्रतिशतले बढ्यो निक्षेप, सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि वृद्धि

मधेश प्रदेशमा १३.२५ प्रतिशतले बढ्यो निक्षेप, सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि वृद्धि


मधेश – मधेश प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरू निक्षेप १३.२५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अन्तर्गत मधेश प्रदेशको वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।

समीक्षा वर्षमा मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधीको तुलनामा १३.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ९६ अर्ब ५० करोड पुगेको छ । गत वर्षको सोही अवधीमा यस्तो निक्षेप ५.३५ प्रतिशतले वृद्धि भई २ खर्ब ६१ अर्ब ८१ करोड पुगेको थियो । त्यस्तै मधेश प्रदेशको कर्जा प्रवाहमा पनि यने वर्ष उल्लेख्य वृद्धि भएको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधीको तुलनामा ४.६८ प्रतिशतले वृद्धि भई ४ खर्ब ५० अर्ब २१ करोड पुगेको छ । गत वर्षको सोही वर्षमा यस्तो कर्जा १६.७० प्रतिशतले वृद्धि भई ४ खर्ब ३० अर्ब ९ करोड पुगेको थियो ।

त्यस्तै, २०७९/८० मा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा २२ अर्ब ३० करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १४ अर्ब ५ करोड रहेको थियो । समीक्षा वर्षमा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले सो कर्जा प्रवाह गर्दा धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु प्रमुख कारण रहेको केन्द्रीय बैंकले देखाएको छ । प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी ४ अर्ब ४८ करोड अर्थात् २०.१३ प्रतिशत सर्लाही जिल्लामा र सबैभन्दा कम १ अर्ब ८ करोड अर्थात् ४.८७ प्रतिशत सप्तरी जिल्लामा रहेको छ ।