अन्तर्राष्ट्रिय

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

३२ हजार भन्दा बढी घरमा बिजुली बन्द


एजेन्सी, जापानको तटीय क्षेत्र नोतोमा ७.६ म्याग्निच्युडको भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार यिसिकावा क्षेत्रमा भूकम्पका कारण केही घरसमेत भत्किएका छन् । भूकम्पबाट मानवीय क्षतिको भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । बीबीसीका अनुसार मध्य टोकियोमा समेत घरहरू हल्लिएका थिए । जापानको मौसम विभागका अनुसार वाजिमा बन्दरगाहमा १.२ मिटरसम्म सुनामी आएको छ । नोतोमा ७.६ म्याग्निच्युडको भूकम्प आएको पहिलो पटक हो ।

अधिकारीहरूले यामागाता, निगाता, तोयोमा, फुकुई, ह्योगो प्रिकेक्चरका तटीय क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन् । त्यस्तै भूकम्पका कारण केही ठाउँमा आगलागीसमेत भएको छ भने केही क्षेत्रमा बिजुलीको लाइनसमेत अवरुद्ध भएको छ । इसिकावा प्रिफेक्चरमा ३२ हजार भन्दा बढी घरमा विद्युत बन्द भएको छ । प्रधानमन्त्री फुमियो किसिदाले सुनामी आउन सक्ने सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् ।

जापानमा पछिल्लो पटक सन् २०१८ मा होक्काइदो ७ म्याग्निच्युडको भुकम्प गएको थियो ।