बजारमा नगद परिचालन ५ प्रतिशतले वृद्धि, सरकारी कोषमा १ खर्ब ६० अर्ब



बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा नगद परिचालन साढे ५ प्रतिशत बढेको छ।

मंसिरसम्म ६ खर्ब ६० अर्ब ८१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ५।५९ प्रतिशतले बढेको छ।

मंसिरसम्म सरकारी कोषको आकार बढेर १ खर्ब ६० अर्ब २४ करोड रुपैयाँको उचाइमा पुगेको छ। यो ५ महिनामा सरकारी कोष २५५ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ रहेको छ। अन्य दायित्व १ अर्ब ७० करोड ९ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।