बैंकिङ्ग समाचार, काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिदबिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको बताएको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) अनुसार चुक्त पूँजीको ५ प्रतिशत सेयर खरिदबिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान पूरा नभएको बताएको हो ।
बिहीबार मात्रै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसेललाई पटक–पटक अनुरोध गरे पनि सेयर खरिदबिक्री पूर्व आफूहरूलाई जानकारी नगराइएको बताएका छन् । दूरसञ्चार कम्पनी खरिद–बिक्रीपूर्व जानकारी गराउनुपर्ने प्रावधान रहेको उनले स्पष्ट पारे ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले किनबेचबारे जानकारी गराउन एनसेललाई पटक–पटक अनुरोध गरे पनि त्यसबारे जानकारी नदिइएको बताएका छन् ।
मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो। सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले गत मंसिर १५ मा एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको थियो। कम मूल्य निर्धारण गरी सेयर खरिदबिक्री गरेर कर छली गरेको आरोप एनसेलमाथि लागेको छ।
एनसेलको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानून र प्रक्रियाअनुसार भए वा नभएको विषयमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्।
सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले राज्यलाई तिर्नुपर्ने कर रकम असुल उपर गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया