Breaking

अर्थमन्त्री र आरबीआईका गभर्नर इतिहासकै ठुलो आर्थिक घोटालामा लिप्त भएको आरोप, शंकास्पद इमेलमार्फत मुम्बईको ११ स्थानमा बम राखिएको दाबी

अर्थमन्त्री र आरबीआईका गभर्नर इतिहासकै ठुलो आर्थिक घोटालामा लिप्त भएको आरोप, शंकास्पद इमेलमार्फत मुम्बईको ११ स्थानमा बम राखिएको दाबी


एजेन्सी–भारतको मुम्बईमा अवस्थित भारतीय रिजर्भ बैंक (आरबीआई) र दुई सहरमा रहेका निजी क्षेत्रका बैंकहरू (एचडीएफसी र आईसीआईसीआई) लाई मंगलबार धम्कीपूर्ण इमेल प्राप्त भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन । उक्त इमेलमा आरबीआई र निजी क्षेत्रका बैंकहरूमाथि आरोप लगाउँदै भारतको इतिहासमा सबैभन्दा ठूलो घोटाला भएको र विभिन्न ११ स्थानमा बम राखेको दाबी गरेको बताइएको छ । भारतीय संचारमाध्यम मिन्टले मुम्बई पुलिसलाई उदृत गर्दै यस्तो सूचना प्राप्त भएको बताएको छ ।

उक्त इमेल पठाउने समुहले अर्थमन्त्री निर्मला सीतारामन र आरबीआईका गभर्नर शक्तिकान्त दास लगायतको भारतीय बैंकिङ्ग इतिहासमै भएको ठुलो घोटालामा संलग्नता रहेको दाबी गरेको बताइएको छ । उक्त इमेलमार्फत उनीहरुको राजीनामाको माग पनि गरिएको छ । भारतीय संचारमाध्यम मिन्टका अनुसार इमेलमा भनिएको छ, ‘आरबीआई गभर्नर र अर्थमन्त्री दुबैले तुरुन्तै आफ्नो पदबाट राजीनामा दिनुहोस् र घोटालाको पूर्ण खुलासा सहित एक प्रेस विज्ञप्ति जारी गर्नुहोस्।’

कहाँ राखिएको छ बम ?
इमेलमा उल्लेख भए अनुसार आरबीआई-नयाँ केन्द्रीय भवन, फोर्ट; HDFC हाउस-चर्चगेट; र ICICI बैंक टावर, BKC (बान्द्रा-कुर्ला कम्प्लेक्स)मा बम राखिएको छ । यसका साथै दिउँसो १ः३० बजे विस्फोटक पदार्थ विस्फोट हुने चेतावनी पनि दिइएको छ ।

के भन्छ मुम्बई प्रहरी ?
मुम्बई प्रहरीले इमेलमार्फत भनिएका ११ स्थानहरुमा चेकजाँच गर्दा हालसम्म केही फेला नपरेको बताएको छ । भारतीय संचारमाध्यममा उल्लेखित समाचारहरुका अनुसार उक्त सूचना पाउनासाथ प्रहरीहरु छानबिनमा लागेको तर बम राखिएको या नराखिएको भन्नेबारे हालसम्म केही जानकारी नपाएको बताएको छ ।