बैंकिङ्ग समाचार, काठमाडाैं- ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘मेरी उनी’लाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरिरहेकाे छ ।
बैंकले पुस १७ गते १७ औँ वर्षमा प्रवेश गर्दैछ । आफ्नो वार्षिकोत्सवको अवसरमा बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरुमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेकाे हाे ।
शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवा निःशुल्क रुपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ ।
जसअन्तर्गत पुस ४ गते सूदूरपश्चिममा बाजुराको गौमुल गाँउपालिकाेट २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा १७० भन्दा बढि महिलाहरुको स्वास्थ्य जाँच गरेको थियो ।
यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरूमा पनि यही महिना शिविरहरु सञ्चालन गर्ने जनाएकाे छ । जसअन्तर्गत बागमतीमा पुस १३ गते भरतपुर-८ चितवनस्थित गौरीगंज स्वास्थ्यचौकीमा पुस १३ गते, लुम्बिनीमा पुस १७ गते रैनादेवी छहरा-३, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा, कर्णालीमा पुस १८ गते विरेन्द्रनगर-१३, सुर्खेतस्थित जर्बुट्टा स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुनेछन् ।
यस्तै पुस २१ मा गण्डकीमा अन्नपूर्ण-६ म्याग्दी स्थित पोखरेबजार आधारभुत विद्यालय र पुस २८ मा काेशीमा इलाम-४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने जानकारी बैंकले दिएकाे छ ।
प्रतिक्रिया