बुटवल- बुटवलको अमरपथमा रहेको सपना साडी सेन्टर र त्यसका सञ्चालक राजेन्द्रप्रसाद ध्वजूविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको छ ।
राजस्व छलीको आशंकामा छापा मारेर कागजात नियन्त्रणमा लिएको ९ महिनापछि राजस्व अनुसन्धान कार्यालय, बुटवलले ध्वजूविरुद्ध राजस्व छली तथा चुहावट गरेको अभियोगमा मुद्दा दायर गरेको हो । ध्वजुविरुद्ध ठूलो परिमाणमा राजस्व छलेर कपडाको व्यापार सञ्चालन गरेको अभियोगमा जेल सजायको माग गर्दै मुद्दा दाएर गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए। ध्वजूविरुद्ध ६ करोड ६३ लाख बिगो तथा जरिवाना तिराउनुपर्ने मागदाबीसहित उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको छ ।
गत वर्ष फागुन २ गते राजस्व अनुसन्धान कार्यालय, बुटवलले विशेष सूचनाका आधारमा अमरपथमा रहेको सपना साडी सेन्टरको पसल तथा गोदाममा छापा हानेरे पसलको मालवस्तुको मौज्दात विवरण, खरीद/बिक्री खाता, स्टक बुक, बिलका अर्धकट्टी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । कार्यालयले पसल तथा गोदाममा केही मालवस्तु अधिक मात्रामा देखिएकोमा सञ्चालकले खरिद स्रोत देखाउन नसकेको र केही मालवस्तु खरिदभन्दा बिक्री बढी गरेको देखिएको भन्दै अनुसन्धान थालेको थियो ।
अधिक रहेको मालबस्तुको भन्सारतर्फको बिगो रु ३ करोड ४ लाख ४३ हजार ९ सय ४३, मूल्य अभिवृद्धी कर (भ्याट) तर्फ रु. १ लाख ५४ हजार ५ सय ३६ र न्यून मौज्दाततर्फ रु. २५ लाख ७६ हजार ४५ गरी कुल ३ करोड ३१ लाख ७४ हजार ५ सय २४ बिगोसहितको माग दाबी गरी मुद्दा दर्ता गरिएको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२(प्रथम संशोधन) दफा २३(१) बमोजिम बिगो असूल उपर गरी शतप्रतिशत जरिवाना माग दाबीसहित कार्यालयले मुद्दा दायर गरेको छ । साडी सेन्टरका सञ्चालक राजेन्द्रप्रसाद ध्वजू भने कार्यालयले छापा हानेदेखि नै राजस्वको सम्पर्कमा नआएको राजस्व कार्यालयले जनाएको छ ।
दायर भएको मुद्दामा पनि ध्वजूलाई फरार अभियुक्तकारुपमा प्रस्तुत गरिएको छ । कार्यालयले पटक–पटक मौखिक तथा लिखितरुपमा कार्यालयमा आउन जानकारी दिँदा समेत नआएको जनाए पनि ध्वजूले भने बुटवलकै विभिन्न सामाजिक कार्यमा सक्रियता देखाइरहेका छन् । रोटरी इन्टरनेशनल ३२९० का डिस्ट्रिक गभर्नर समेत रहेका ध्वजू बुटवलको दीप बोर्डिङ हाइस्कुल र एम्स कलेजका सञ्चालक हुन् ।



About Us
प्रतिक्रिया