निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंकबीच सम्झौता


काठमाडाैं- निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक लिमिटेडबीच सम्झौता भएको छ । बिहीबार बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक ‘केबीएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनी’ मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी दुई पक्षबीच सम्झौता भएकाे हाे।

सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुनेगरी छुट्टै उपशीर्षक ‘केबीएल स्मार्ट बिजनेस लोन फर आइटी कम्पनी’ मा लगानी भएको अधिकतम ३ करोड रूपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । यससँगै पूँजी अभावका कारण व्यवसाय विस्तार गर्नमा कठिनाइको सामना गरिरहेका सूचना प्रविधि कम्पनीहरुलाई सहज रुपमा कर्जा प्राप्त हुने विश्वास गरिएको छ ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क हाललालाई कर्जा सुरक्षण (चौथो संशोधन) नियमावलीमा व्यवस्था रहेको साना तथा मझौला उद्यम कर्जा सुरक्षण कार्यक्रमबमोजिम वार्षिक ०.६ प्रतिशत रहनेछ । जसमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानवापत व्यहोर्नेछ । कुनै कारणवश बैंकले कर्जा असुली गर्न नसकेमा कोषले बाँकी साँवा ब्याजको अधिकतम् ८० प्रतिशतसम्म दाबी भुक्तानी दिनेछ ।