विष्णु पौडेललाई गिज्याइरहेको एक अर्ब बढीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

विष्णु पौडेललाई गिज्याइरहेको एक अर्ब बढीको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

उद्घाटनको डेढ वर्षसम्म पनि सञ्चालनमा आएन,सरसफाई र विद्युतमा करोड बढी खर्च


बुटवल– रूपन्देही-२ का सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल निर्माणको योजना छनोटदेखि बजेट व्यवस्थापनसम्म आफ्नो भूमिका रहेको भन्दै जस लिने गरेका छन् । पौडेलले रूपन्देहीका हरेकजसो सार्वजनिक कार्यक्रममा सम्मेलन केन्द्रबारे बोल्न छुटाउन्नन् । नेकपा एमालेका नेता कार्यकर्ता पनि यिनै आयोजनालाई देखाउने र भजाउने गरेका छन् ।

तर एक अर्ब ११ करोड लागतमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन भएको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा भने आउन सकेकाे छैन ।

बुटवल–१०, रामनगरस्थित बुटवल मण्डपको ९ बिघा जमिनमा निर्माण भएको सम्मेलन केन्द्र २०७९ साल असारमा पूरा भई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७९ भदौ ११ गते उद्घाटन गरेका थिए ।

उद्घाटनका बेला देउवासहित पूर्वअर्थमन्त्री पौडेल लगायतका नेताहरूले सम्मेलन केन्द्र छिट्टै सञ्चालनमा आउने बताएका थिए । तर यथार्थमा भने सम्मेलन केन्द्रको कार्यविधि स्वीकृत नहुँदा उद्घाटनको डेढ वर्ष पुग्न लाग्दा पनि सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका सांसद र सरकारको आलोचना भइरहेको छ ।

मुख्य हलबाहेक अन्यमा सबै प्राविधिक प्रबन्ध गरेर सबै सभा हल र बैठक कक्ष सञ्चालनयोग्य बनाउन थप १९ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ ।

केन्द्र सञ्चालनमा नआए पनि सुरक्षा गार्ड,सरसफाई कर्मचारी र विद्युतमा मासिक ४ लाखसम्म खर्च हुने गरेको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन एकाइका आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । ‘पहिला धेरै खर्च आउँथ्यो । अहिले विद्युत, सरसफाइ कर्मचारी र सुरक्षा गार्डमा मासिक ४ लाखसम्म खर्च हुन्छ, हालसम्मको हिसाब जोड्दा एक करोड बढी खर्च भइसकेको छ,’पन्थीले भने ।

सम्मेलन केन्द्र निर्माण आयोजनाले २०७९ साल जेठमै सञ्चालन कार्यविधिको मस्यौदा तयार गरेर सहरी विकास तथा भवन निर्माण विभागमार्फत् संघीय सहरी विकास मन्त्रालयमा स्वीकृतिका लागि बुझाएको थियो । उक्त मस्यौदा अध्ययनपछि मन्त्रालयकै सहसचिवको संयोजकमा फेरि अर्को समितिले नयाँ मस्यौदा बनाएर गएकाे दशैंअघि पेश गरे पनि हालसम्म स्वीकृत भएकाे छैन । यससँगै सम्मेलन केन्द्र सञ्चालनमा अन्योल बढेको पन्थीले बताए ।

कार्यविधि नबने पनि स्थानीयस्तरमा माग भएपछि करिब डेढ वर्षको अवधिमा केन्द्रको मुख्य हल ठूला राजनीतिक दलका प्रदेश सम्मेलन,सामाजिक संघसंस्थाका राष्ट्रिय सम्मेलन र विवाहका भोजभतेर जस्ता कार्यक्रममा भाडामा दिने गरिएको पन्थीले बताए । हाल मुख्य सभाहल चार घण्टाका लागि ९६ हजार, आठ घण्टाका लागि एक लाख २७ हजार र १२ घण्टाका लागि एक लाख ७६ हजार रुपैयाँमा भाडामा दिने गरिएको जानकारी उनले दिए ।

एउटै छानोमुनि साना-ठूला गरी १४ वटा सभाहल र बैठक कक्ष रहेका छन् । सबै सभा हल र बैठक कक्ष गरेर एक पटकमा करिब दुई हजार जना अट्ने क्षमताको यो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र काठमाडौंबाहिरको सबैभन्दा ठूलो र आधुनिक हो ।

तीनवटा ब्लकमा निर्मित सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीनवटै भवन एकआपसमा जोडिएर राष्ट्रिय झण्डाको आकारमा देखिन्छ । यसमा एक हजार जना अट्ने मुख्य सभा हल, एक–एक सय जना अट्ने दुई वटा र ५०–५० जना अट्ने दुई वटा सभा हल छन् । दुईवटा लेक्चर हल, छ वटा बैठक कक्षसहित भिआइपी कक्ष, भिडियोअडियो कक्ष, ट्रान्सलेटर कक्ष लगायत छन् ।

सम्मलेन केन्द्रमा दुईवटा प्रवेशद्वार, एउटा निकासद्वार, भीआइपीद्वार, सर्भिसद्वार गरी पाँच वटा द्वार छन् । परिसरमा चार सय गाडी र चारसय मोटरसाइकल अट्ने पार्किङ छ । पानीको फोहोरासहितको पोखरी, हरियालीयुक्त बाटो, फुटपाथ र बगैंचाले सम्मेलन परिसर निकै आकर्षक छ ।

सम्मेलन केन्द्र निर्देशिकाअनुसार नगरपालिका वा गाउँपालिकाले पाँच सय सिट क्षमताको, उपमहानगरपालिकाले सात सय सिट क्षमताको र महानगरपालिकाले सात सयभन्दा माथि एक हजार सिट क्षमतासम्मको सम्मलेन केन्द्र तथा सभाहल सञ्चालन गर्नसक्ने प्रावधान छ ।

बुटवलको सम्मेलन केन्द्र एक हजारभन्दा बढी सिट क्षमताको भएकाले निर्देशिका परिवर्तन नगरी बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्न पाउँदैन । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निर्देशिका परिवर्तन गरेर उपमहानगरलाई जिम्मा दिए सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने बताउँदै आएका छन् ।

सञ्चालन कार्यविधिको मस्यौदामा पहिलो विकल्पमा स्थानीय सरकारलाई नै हस्तान्तरण गर्ने, दोस्रोमा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मातहत सञ्चालन गर्ने र तेस्रोमा छुट्टै विकास समिति गठन गरेर सञ्चालन गर्ने उल्लेख छ ।

तेस्रो विकल्पमा विकास समिति गठन पनि मन्त्रालय मातहत नै रहने गरी कार्यविधि बनाइएको छ । उक्त कार्यविधिबारे हालसम्म मन्त्रिपरिषदबाट कुनै निर्णय भएकाे छैन । जसकारणा उद्घाटनको लामो समयसम्म सम्मेलन केन्द्र सञ्चालनमा आउन नसकेको पन्थीले बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल सम्मेलन केन्द्रका हल र बाहिरको पार्किङसहित खाली ठाउँ अलग-अलग ढंगले प्रयोग गर्न सकिनेगरी कार्यविधिमा बनाएमा सम्मेलन केन्द्र नियमित र दीगोरुपमा सञ्चालन हुने सक्ने बताउँछन् ।

हल र बाहिरको ठाउँलाई एकै प्याकेजमा भाडामा दिने कार्यविधिले शुल्क ज्यादै महँगो हुँदा नियमितरूपमा भाडामा जान कठिन हुने तर अलग अलग गरेर भाडामा दिने हो भने आउटडोरको भाडा सस्तो हुन जान्छ। यसाे गर्दा नियमिति भाडामा जानसक्ने अर्यालले सुझाए ।

उद्योग व्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेय उद्घाटन भएको डेढ वर्ष हुन लाग्दा पनि कार्यविधि स्वीकृत नगरी सम्मेलन केन्द्र सञ्चालन गर्न नसक्नु सरकारको लाचारीपन भएको बताउँछन् । ‘राज्यको अर्बभन्दा बढी लगानी भएको आयोजना उद्घाटन भएर पनि सञ्चालनमा नआउंदा विद्युत र कर्मचारीमा लाखौं खर्च बालुवामा पानी सरह भएको छ यो विडम्बना हो,’ उनले भने, ‘सम्मेलन केन्द्र छिटो सञ्चालन गर्न यस क्षेत्रका जनप्रतिनिधि र सरकार संवेदनशील हुनुपर्छ ।’