काठमाडाैं- उद्याेगी व्यवसायीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेकाे गुनासाे गरेका छन्। नेपाल बीमा प्राधिकरणले मंगलबार विराटनगरमा उद्योग सङ्गठन मोरङसँग गरेकाे अन्तरक्रिया कार्यक्रमलाई व्यवसायीहरूले यस्ताे गुनासाे गरेका हुन्।
व्यवसायीहरूले ‘कन्ट्रयाक्टर अल रिस्क’ बीमालेख महङ्गो भएको, बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन ढिलाइ गर्ने गरेको, आर्थिक सङ्कटको हालको अवस्थामा बैङ्ककाे ब्याजदर घटाइए जस्तै बीमादरमा समेत राहत आवश्यक भएको, न्यूनतम बीमादर तोक्नुभन्दा अधिकतम बीमादर तोक्नु आवश्यक देखिएको बताएका थिए। यस्तै सामुद्रिक बीमादर सम्बन्धी निर्देशिका बमोजिम रू. ५० करोडको सामान आयात गर्दा २० प्रतिशत छुट दिन बीमा कम्पनीहरूले ढिलाइ गरी छ महिनादेखि आर्थिक वर्षको अन्त्यसम्म पुर्याउने गरेको लगुनासाे उनीहरूले गरेका थिए।
जवाफमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ५० करोडको सामान आयात गर्दा बीमितले पाउने २० प्रतिशत छुट तत्कालै दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको बताए। ‘सामुद्रिक बीमादर सम्बन्धी निर्देशिका, २०६५ बमोजिम रू. ५० करोडको सामान आयात गर्दा बीमितले पाउने २० प्रतिशत छुट तत्कालै दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ,’ उनले भने।
प्राधिकरणमा बीमितबाट आएका गुनासा एवम् उजुरीमध्ये ९५ प्रतिशत बीमितको पक्षमा फैसला भएको उनकाे भनाइ थियाे।
उनले नेपालका बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीहरूमा पुनर्बीमा गर्न सकून् र बीमा दाबी सुनिश्चित हुनसकोस् भनेर प्राधिकरणले आवश्यक व्यवस्थासमेत गरेकाे बताए। सिलवालले सम्पत्ति बीमादर निर्देशिकामा करिब ९० प्रतिशतको बीमादर घटाइएको र जोखिमका आधारमा कुनै कुनैको बीमादर मात्रै बढेको स्पष्ट धारणा राखे।
‘अन्तर्राष्ट्रिस्तरमा राम्रो रेटिङ भएका पुनर्बीमा कम्पनीहरूले न्यून बीमादरमा पुनर्बीमा स्वीकार नगर्ने भएकाले नेपालका केही बीमा कम्पनीले ‘नन् रेटिङ्ग’ भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेका छन्,’ उनले भने, ‘जसका कारण पुनर्बीमकबाट कतिपय अवस्थामा दाबी रकम नपाउँदा बीमकबाट दाबी भुक्तानीमा ढिलाई हुने गरेको छ, यसका बारेमा प्राधिकरणले गम्भीर अध्ययन गरिरहको छ।’



About Us
प्रतिक्रिया