एकीकृत व्यापारी व्यवस्थापन प्रणाली सञ्चालनको लागि सम्झौता 


काठमाडौं– माछापुच्छ्रे बैंक नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड नेप्से र सिटीटेकले मिति २०८० साल पौष ०२ गते एकीकृत व्यापारी व्यवस्थापन प्रणाली सञ्चालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन्। उक्त सम्झौतापत्रमा नेप्सेको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक श्री प्रसिद्ध राज अर्याल ज्यूले हस्ताक्षर गर्नुभएको थियो। 

नेप्से र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नाम कएकीकृत व्यापारी व्यवस्थापन प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र संजालहरुलाई बैंक र व्यापारीहरूले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन्। सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ। 

यसका साथै हाल प्रचलनमा आईरहेका सबै भुक्तानी उपकरणहरू तथा संजालहरुलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरूलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरुको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरुमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरूले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन्। सम्झौता पछि, तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन्।