काठमाडौं– प्रविधिको विकाससँगै वित्तीय सेवा हात–हातमा पुगेको छ । तर प्रविधिको विकासले सहजता मात्रै दिएको छैन । त्यससँगै झाँगिएको बदलिँदो आपराधिक स्वरुप उत्तिकै टाउको दुखाइको विषय पनि बनेको छ । पछिल्लो समय बैंक तथा वित्तीय कसुरका अपराधको सूची हरेक वर्ष लम्बिँदै गएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार गएका तीन वर्षमा बैंकिङ्ग कसुरका मुद्दा दोब्बरले बढेको देखिन्छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा सुरुका दुई वर्ष बैंकिङ्ग कसुरका अपराध ३ हजारको सेरोफेरोमा छन् । तेस्रो वर्ष यस्ता अपराधको संख्या घटेकोमा त्यसयता हरेक वर्ष बैंकिङ्ग अपराधसम्बन्धी उजुरी दोब्बरले बढ्दै गएको देखिन्छ ।
विद्युतीय साधनको दुरुपयोग गरेर खाता ‘ह्याक’ गरेर तथा प्रलोभनमा पारी, चेक बाउन्स, नक्कली लालपूर्जा, कीर्ते हस्ताक्षर प्रयोग जस्ता बैंकिङ्ग अपराधका घटना बढ्दै गएका छन् ।
पाँच वर्षमा २६ हजार बढी उजुरी
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो पाँच वर्षमा देशभर बैंकिङ्ग कसुरसम्बन्धी २६ हजार बढी उजुरी परेका छन्। सूचना अधिकारी प्रहरी नावय महानिरीक्षक (डीआईजी) कुबेर कडायतका अनुसार यस अवधिमा २६ हजार ३६७ उजुरी परेका छन् ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५/०७६ मा बैकिङ्ग कसुरसम्बन्धी तीन हजार १६७ उजुरी परेका थिए । आर्थिक वर्ष २०७६/७७ मा सामान्य वृद्धि भइ त्यस्तो संख्या तीन ३०९ पुग्यो ।
यसैगरी आर्थिक वर्ष २०७७/७८ मा भने बैंकिङ्ग कसुरसम्बन्धी उजुरीको संख्या केहीले घटेको देखिन्छ । उक्त वर्ष दुई हजार ३७३ उजुरी दर्ता भएका थिए । त्यसयता भने बैंकिङ्ग कुसरसम्बन्धी उजुरीको संख्या भने निरन्तर उकालो लागेको देखिन्छ ।
आर्थिक वर्ष २०७८/७९ मा पाँच हजार ३८३ बैंकिङ्ग कसुरसम्बन्धी उजुरी दर्ता भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा १२ हजार १३५ उजुरी दर्ता भएका छन् ।
सबैभन्दा बढी मधेशमा
गएको पाँच वर्षमा सबैभन्दा बढी मधेश प्रदेशमा बैंकिङ्ग कसुरसम्बन्धी उजुरी परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार यस प्रदेशमा आव ७५/७६ मा बैंकिङ्ग कसुरसम्बन्धी उजुरी ७४ वटा परेका थिए । त्यसपछि क्रमशः ७६/७७ मा १२९, ७७/७८ मा १५४, ७८/०७९ मा ५५६ र ७९/८० मा ९४७ वटा उजुरी परेका छन् ।
बैंकिङ्ग कसुरमा मुद्दा रहेका छन् । यस प्रदेशमा अन्य प्रदेशभन्दा अधिक मुद्दा रहेको प्रहरी प्रधान कार्यालय जनाएको हो ।
यसैगरी अन्य प्रदेशमा पनि यस्ता अपराधको ग्राफ बढ्दो क्रममा देखिन्छ ।
कोशी प्रदेशमा आव २०७५/७६ मा ६९ वटा बैंकिङ्ग कसुरसम्बन्धी उजुरी परेकोमा त्यस्तो संख्या त्यसयता निरन्तर बढ्दो छ । आव २०७६/७७ मा ६८ छन्, ७७/७८ मा ८० र आव ७८/७९ मा ह्वात्तै बढेर २८४ वटा पुगेको छ ।
बागमती प्रदेशको तथ्याङ्कलाई केलाउँदा आव ७५/०७६ मा बैंकिङ्ग कसुरको संख्या ८६ रहेको छ । ७६/७७ मा ७५ पुगेकोमा ०७७/७८ मा भने उजुरी संख्या घटेर २८ मा सीमित भएको छ । तर ७८/७९ मा भने वृद्धि भई ८७ पुगेकामा ७९/८० बैंकिङ्ग कसुरसम्बन्धी उजुरी बढेर ३९० पुगेको छ ।
यस्तै गण्डकीमा चार आर्थिक वर्षमा क्रमशः यस्तो उजुरीको संख्या ३०, ९८, १०१ र १५७ रहेको छ । आर्थिक वर्ष ७९/८० मा उक्त संख्या ह्वात्तै बढेर ५८६ पुगेको छ । लुम्बिनीको पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा बितेका पाँच आर्थिक वर्षमा यस्तो संख्या क्रमशः २६१, २५, ४८, १३८ र ८०४ पुगेको छ ।
कर्णालीमा भने बैंकिङ्ग कसुरसम्बन्धी उजुरी अन्य प्रदेशको तुलनामा न्यून देखिन्छ । ७५/७६ मा जम्मा २ वटा मात्रै बैंकिङ्ग कसुरसम्बन्धी उजुरी परेको यस प्रदेशमा त्यसपछिका दुई आर्थिक वर्षमा १/१ र ७८/७९ मा ५ वटा रहेको छ । गत आर्थिक वर्ष ७९/८० मा भने उक्त संख्या ह्वात्तै बढेर १३५ वटा पुगेको छ ।
सुदुरपश्चिममा बितेका पाँच वर्षमा क्रमशः बैंकिङ्ग कसुरसम्बन्धी उजुरी १७, १, १, २ र आर्थिक वर्ष ०७९/०८० मा १७६ वटा उजुरी परेका छन् ।
बितेको पाँच वर्षको तथ्यांक हेर्दा गत आर्थिक वर्ष २०७९/८० मा देशैभरि बैंकिङ्ग कसुरसम्बन्धी अपराध सबैभन्दा बढी घटेको देखिन्छ ।






About Us
प्रतिक्रिया