बढ्याे रेमिट्यान्स, श्रम गर्न विदेश फर्किने नेपाली ९ गुणाले बढे


काठमाडाैं- चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा चार खर्ब ७७ अर्ब ९६ करोड रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २६ दशमलव चार प्रतिशतले रेमिट्यान्स बढेको हो ।

अघिल्लो वर्षको यही अवधिमा भने रेमिट्यान्स आप्रवाह २० दशमलव चार प्रतिशत रहेका थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो ।

यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिनकाे संख्या घटेकाे छ। यद्यपि, पुन: श्रम स्वीकृति लिनेकाे संख्या भने ९ गुणाले बढेकाे छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ४४१ रहेको छ ।

बैंकका अनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या क्रमशः एक लाख ९६ हजार ७३५ र ७ हजार ४०२ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ दशमलव नौं प्रतिशतले वृद्धि भई पाँच खर्ब २१ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले बढेको थियो ।