चार महिनामा नेपालकाे वैदेशिक व्यापार घाटा चार खर्ब ६१ अर्ब रुपैयाँ


काठमाडाैं- अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको बताउँदै आएको भए पनि तथ्यांकमा भने त्यस्तो हुन नसकेको देखिएको छ। आयात र निर्यातबीचको उच्च असन्तुलनका कारण व्यापार घाटा बढेका कारण पनि मुलुकको अर्थतन्त्र थप कमजोर देखिएको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा चालू आर्थिक वर्षको चार कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले घटेर पाँच खर्ब १२ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ। यस अवधिमा मुलुकको कुल वस्तु निर्यात भने सात दशमलव सात प्रतिशतले घटेर ५० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

उक्त तथ्यांक अनुसार चालु आवको पछिल्लो चार महिनाको अवधिमा कुल वस्तु व्यापार घाटा तीन दशमलव तीन प्रतिशतले घटेर चार खर्ब ६१ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४ दशमलव पाँच प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय सात दशमलव नौं प्रतिशत र चार दशमलव प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिन लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले जनाएकाे छ।

चालु आवको चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलव सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलव चार प्रतिशतले बढेको छ। वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ।

कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ।

राष्ट्र बैंकका अनुसार चार महिनामा कुल वस्तु व्यापार घाटा तीन दशमलव तीन प्रतिशतले कमी आइ चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव नौं प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव नौं प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव तीन प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२ अर्ब ६९ करोड बराबरको भएको प्रतिवेदनमा उल्लेख छ।