सेयरकाे राेक्का अवधिबारे ३० दिनअघि जानकारी दिन धिताेपत्र बाेर्डकाे निर्देशन


काठमाडौं- नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूको सेयरको रोक्का अवधि (लकइन पिरियड) ३० दिन अगावै सार्वजनिक गर्न निर्देशन दिएको छ।

बोर्डले सार्वजनिक सूचना जारी गर्दै संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधिसम्बन्धी व्यवस्थालाई थप पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्देशन दिएको हो। लकइन अवधि सम्बन्धमा जानकारी नहुँदा सर्वसाधारणलाई सेयर बिक्री सम्बन्धमा अन्योलता बढ्दै गएको भन्दै बोर्डले उक्त निर्देशन दिएको हो।

‘सम्पूर्ण सूचीकृत संगठित संस्थाले संस्थापक तथा अन्य समूहको सेयरको बिक्री गर्न नपाइने गरी तोकिएको लकइन पिरियड समाप्त हुनुभन्दा कम्तीमा ३० दिनअघि, लकइन अवधि समाप्त हुने मिति समेत स्पष्ट रूपमा खुलाई सार्वजनिक जानकारीका लागि सूचना जारी गर्नुपर्नेछ,’ बोर्डको निर्देशनमा भनिएको छ।

कम्पनीहरूले उक्त जानकारी धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएस एन्ड क्लियरिङलाई पनि उपलब्ध गराउनुपर्ने बाेर्डले जनाएकाे छ।