काठमाडौं- नेपाल धितोपत्र बोर्डले १० प्रतिशत सेयर निष्कासनको नीतिमा पुनरावलोकन गर्ने तयारी गरेपछि लगानीकर्ताहरूले विराेध गरेका छन्। धिताेपत्र बाेर्डकाे उक्त निर्णयपछि नेपाल पुँजीबजार लगानीकर्ता संघले आन्दोलमा उत्रिने चेतावनी दिएकाे छ।
संघकी अध्यक्ष राधा पोखरेलले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भनिन्, ‘लागू भएको १० कित्ता नीति खारेज भएमा साना लगानीकर्तालाई मर्कामा पार्न सक्छ। १० कित्ते नीतिले आमलगानीकर्ताहरूलाई सेयर बजारको पहुँचसम्म पुर्याएको छ। सेयर बजारको दायरा बढाएको छ।’
सेयर बजारलाई फराकिलो बनाएको तथा सेयर बजारप्रति आमलगानीकर्ताहरूको चासो बढाएकाले १० कित्ते नीति उपयुक्त रहेकाे उनले बताइन्। उनले भनिन्, ‘यो सेयर बजारका लागि सकारात्मक नै हो। खारेज गर्न मिल्दैन।’ खारेज भएमा लगानीकर्ता आन्दाेलनमा उत्रिने चेतावनी उनले दिइन्।
धितोपत्र बोर्डको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १० कित्ते नीति पुनरावलोकनका लागि विभिन्न पक्षको अध्ययन गर्न विज्ञसहितको अध्ययन समिति गठन गरेको छ। बोर्डले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) उपाध्यक्ष प्रविण कुमार झाको संयोजकत्वमा समिति बनाएको हो।
समितिमा बोर्ड सदस्यमा भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरि रहेका छन्। प्रतिवेदन तयार पार्ने समयावधि तोकिएको भने छैन।



About Us
प्रतिक्रिया