काठमाडाैं– शुक्रबार नेपाल राष्ट्र बैंकले माैद्रिक नीति २०८०/८१ काे प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्याे। समीक्षाले बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशतमा झारेको थियो।
केन्द्रीय बैंककाे उक्त नीतिसँगै बैंकहरूले ब्याजदर घटाउन थालेका हुन्।
हालसम्म एनआईसी एसिया, एनएमबी र कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। उनीहरूले मंसिर महिनाकाे तुलनामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।
एनआईसी एसियाले मुद्दति निक्षेपमा अधिकम् ८.९७ प्रतिशतबाट घटाएर ८.६७ प्रतिशत र न्यूनतम ७ प्रतिशतदेखि अधिकतम् ८.६७ प्रतिशत ब्याजदर कायम गरेकाे छ। यस्तै बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । बैंकले न्यूनतम ७ प्रतिशतदेखि अधिकम् ८.६७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशतसम्मको ब्याजदर कायम गरेकाे छ।
यसैगरी एनएमबी बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९.७६ प्रतिशतबाट घटाएर ९ प्रतिशत र न्युनतम ब्याजदर ७ देखि ९ प्रतिशत कायम गरेकाे छ। यस्तै संस्थागत मुद्दति निक्षेपकाे ब्याजदर न्युनतम ६ प्रतिशतदेखि अधिकम् ७ प्रतिशतसम्म निर्धारण गरेकाे छ।
एनआईसी एसिया र एनएमबीपछि कुमारी बैंकले पनि पुस महिनाका लागि नयाँ ब्याजदर ताेकेकाे छ। कुमारीले ६ महिनादेखि एक वर्षकाे मुद्दती निक्षेपमा ९.०१ र १ वर्षभन्दा बढीकाे मुद्दति निक्षेपमा ९.६१ प्रतिशत ब्याजदर निर्धारण गरेकाे छ।
अधिक तरलता भएपछि कात्तिक महिनाकाे तुलनामा मंसिरमा अधिकांश बैंकहरूले ब्याजदर घटाएका थिए। राष्ट्र बैंकले समीक्षामार्फत नीतिगत दर घटाएपछि बैंकहरूले पुन: ब्याजदर घटाएका हुन्। अधिक तरलताका कारण पुसदेखि अन्य केही बैंकले पनि ब्याजदर घटाउने तयारी गरेका छन्।






About Us
प्रतिक्रिया