क्षेत्रियस्तरका तीन बैंकको खराब कर्जा सीमाभन्दा निकै उच्च, जोखिममा निक्षेपकर्ता


काठमाडौं– नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कुनै पनि बैंक तथा फाइनान्स कम्पनीहरूमा न्यूनतम खराब कर्जा पाँच प्रतिशतभन्दा बढी हुनुहुँदैन। जुन संस्थामा खराब कर्जा कम छ, त्यो संस्थालाई वित्तीय स्वास्थ्य र निक्षेपकर्ताहरूको बचत रकमको सुरक्षाको हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ।

खराब कर्जा बढी हुने संस्थाको हकमा भने राष्ट्र बैंकले खराब कर्जा निर्धारित सीमा कायम नहुँदासम्म निक्षेप कर्जा प्रवाहमा निश्चित सिमा तोकिदिने, लाभांश वितरण, कर्मचारीको सेवा सुविधा वृद्धि, नयाँ शाखा विस्तार आदिमा रोक लगाउनेजस्ता कारबाही गर्न सक्ने व्यवस्था रहेको छ। खराब कर्जा बढी हुने संस्थामा निक्षेप जम्मा गर्नु भनेको आफ्नो निक्षेप रकम जोखिममा राख्नु अर्थात् डुबाउनु जत्तिकै हो।

पछिल्लो समय क्षेत्रियस्तरका तीन वटा विकास बैंकमा निक्षेप राख्ने बचतकर्ता यस्तै खतराकाे जाेखिममा परेका छन्। क्षेत्रियस्तरको सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा निकै उच्च देखिएको छ।

सम्बन्धित बैंक स्वयंले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई हेर्दा पनि यी बैंकहरूमा न्यूनतम् सातदेखि १८ प्रतिशतसम्म कर्जा खराब देखिएको छ। गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो कर्जाको अनुपात चारदेखि १४ प्रतिशतसम्म रहेको थियो।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी खराब कर्जा सप्तकोशी डेभलपमेन्ट बैंकमा देखिएको छ। यो बैंकमा १८ दशमलव ५० प्रतिशत कर्जा खराब देखिएको छ, जुन राष्ट्र बैंकले तोकेको अधिकतम् सीमाभन्दा तीन गुणा बढी हो। गत आवको यही अवधिमा सप्तकोशीमा यस्तो कर्जाको अनुपात १४ दशमलव १९ प्रतिशत रहेको थियो।

यसैगरी क्षेत्रियस्तरकै नारायणी डेभलपमेन्ट बैंकमा पनि चालु आवको पहिलो त्रैमासमा १७ दशमलव ८१ प्रतिशत कर्जा खराब देखिएको छ। गत आवको यस अवधिमा सप्तकोशीमा चार दशमलव ६७ प्रतिशत कर्जा मात्र खराब देखिएको थियो।

यस्तै एक्सेल डेभलपमेन्ट बैंकमा पनि चालु आवको पहिलो त्रैमासमा सात दशमलव ५७ प्रतिशत कर्जा खराब देखिएको छ। गत आवको यही अवधिमा एक्सेलमा यस्तो कर्जाको अनुपात चार दशमलव ४८ प्रतिशत रहेको थियो।

(स्राेत : सम्बन्धित बैंकको चालु आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार)