३० प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या भने घट्यो


काठमाडौं– चालू आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स (विप्रेषण) ३० प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा रेमिट्यान्स ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड आप्रवाह भएको हो। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिमा रेमिट्यान्स १६ दशमलव ५ प्रतिशतले बढेको थियो । त्यस अवधिमा रेमिट्यान्स आप्रवाह १२ खर्ब २० अर्ब भएको थियो।

राष्ट्र बैंकका अनुसार तीन महिनामा अमेरिकी डलरको रेमिट्यान्स आप्रवाह २५.९ प्रतिशतले वृद्धि भई २ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.९ प्रतिशतले थियो।

रेमिट्यान्स बढे पनि यस अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या भने घटेको छ। यस वर्ष जम्मा १ लाख ६२ हजार २९७ जनाले श्रम स्वीकृति लिएका छन्। संस्थागत र तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति १ लाख १३ हजार तथा ४९ हजार २९७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन्।

अघिल्लो आर्थिक वर्षको यस अवधिमा जम्मा २ लाख ५ हजार जनाले श्रम स्वीकृति लिएका थिए। उक्त अवधिमा संस्थागत र तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति १ लाख ४७ हजार र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।