व्यास नगरपालिकाले लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न सरकारसँग अनुरोध गर्ने


दमौली- नेपाल सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ। उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो।

नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए। परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्ने विश्वास उनले व्यक्त गरे।

नगरप्रमुख न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकासका सम्बन्धमा विज्ञहरुसँग पटक–पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए। उनले भने, ‘स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमस्वरुप समेत बनाए पछि पर्यटन र व्यापार व्यवसायले राम्रो लाभ लिन सक्ने भएकाले सो परियोजना अगाडि बढाउन खोजेका हाैं।’

मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउन नगरपालिकाले सङ्घीय सरकारको साथ खोजेको छ। गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ। जसको लागत रु २६ अर्ब रहने बताइएको छ।

यहाँ व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्पाेर्ट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहरमैला व्यवस्थापन योजनालगायत २६ वटा योजना समेटिने गुरुयोजनामा उल्लेख छ।