बैंकिङ्ग समाचार, काठमाडौ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अबको पर्यटन त्यस्तै होइन, छुट्टै हुनुपर्ने बताएका छन् । शुक्रबार पोखरामा ८ औं पर्वतीय महोत्सवको उद्घाटन गर्दै मन्त्री डा. महतले प्राकृतिक र अर्गनिक उत्पादन मात्र सर्भ गर्न पोखराका व्यवसायीलाई अनुरोध गरेका हुन् ।
मन्त्री डा. महतले भने ‘एउटा होटलबाट सुरु गरौं न यो काम । त्यसपछि यहाँका कृषि उत्पादनले बजार पाउँछ । बजार पाएपछि यहाँका किसानले प्राकृतिक र अर्गनिक खेती गर्न थाल्छन् । खानपिन, रहनसन, भेषभूषा अर्गनिक र पुरानोशैलीको निर्माणले मात्र अब पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’
गण्डकी प्रदेश पर्यटनका लागि धनी भएको उनको भनाइ छ। ‘त्यहाँ छुट्टै कुरा अनुभव गर्न पाइन्छ, छुट्टै कुरा देख्न पाइन्छ भने मात्र पर्यटक आउँछन् । अरुतिरको जस्तै हेर्न यहाँ पर्यटक आउँदैन’ मन्त्री डा। महतले भने , ‘गण्डकी प्रदेश नै सुन्दर ठाउँ हो । तर अहिले नकरात्मक प्रभावबाट दूषित भइरहेको छ । अबको पर्यटन भनेको विशिष्ट पहिचान, सांस्कृतिक, जीवनशैली र विकास निर्माण हो । यहाँको विशिष्टतालाई हामीले पहिचान गर्नुपर्छ । हाम्रो हिमाल, पहाड, सभ्यता, संस्कृति र जीवनशैलीलाई हामीले संरक्षण गर्नुपर्छ ।’
‘पर्यटकको आगमनले हाम्रो जनजीवन पनि माथि उठ्छ । स्थानीय उत्पादनलाई सरकारले अनुदान दिन्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न आयातमा हामीले भ्याट लगाएका हौं । स्याउको उत्पादनलाई प्रवद्र्धन गर्न आयातितलाई भ्याट लगाइएको हो’ मन्त्री डा.महतले भने, ‘कृषि उद्यमीले अब ठूलो स्केलमा उत्पादन गर्नुपर्छ, जग्गा छ, मान्छे छैन भने उनीहरुको जग्गा पनि भाडामा लिएर उत्पादन बढाउनुपर्छ ।’
‘७५ प्रतिशत पहाड र हिमालमा पर्वतीय संस्कृति बनेको हो। यसभित्रको जनजीवन, संस्कृति र सभ्यता जोडिएर आउने उनको भनाइ छ।
मन्त्री डा. महतले भने , ‘७५ प्रतिशत पहाड र हिमाल छ । यही पहाड र हिमालमा पर्वतीय संस्कृति बनेको हो । यसभित्रको जनजीवन, संस्कृति र सभ्यता जोडिएर आउँछ । हिजोका दिनमा पहाड र हिमाललाई नदीले एकअर्कासँग छुट्टाएको हरेक केही माइलभित्र विभिन्न सभ्यता र संस्कृतिको विकास भएको छ । जलवायुको विविधताले विभिन्न खालका वनस्पति, चराचुरङ्गी र जनावर पाइन्छ । यो हो हाम्रो पवर्तनीय स्वरुप हुन् ।’
पर्वतीय महोत्सवको महत्व एकदमै ज्यादा भएको मन्त्री डा. महतले बताए । उनले हिमशृङ्खलाबाट बग्ने साना–ठूला नदीहरुले दक्षिण एसिया सिञ्चित भएको र जलवायु परिवर्तनको असरले हाम्रा हिमाल र पहाडमा देखिएको प्रभाव तल्ला भूभाग भारत र बंगलादेशसम्म पुग्ने निश्चित रहेको बताएका छन्।
मन्त्री डा. महतले भने, ‘जलवायु परिवर्तनमा हाम्रो भूमिका छैन, अरुको कारणले हामीले ठूलो क्षति व्यहोरिरहेका छौं । त्यसकारण हामीले अन्तर्राष्ट्रिय समुदायलाई हामीले भनेका छौं’, ‘कार्बन उत्सर्जनले हाम्रो हिमाल, पहाड र जनजीवन प्रभावित भएको छ । हामीले मात्र कार्वन उत्सर्जन रोकेर भएन, तपाईंहरुले नरोकेसम्म हामी प्रभावित भयौं । हामीले व्यहोरेको क्षतिको तपाईंहरु जिम्मेवार हुनुहुन्छ ।’
‘यो क्षतिको क्षतिपूर्ति हामीलाई चाहिन्छ । यसले हाम्रो जनजीवन प्रभावित पारेकै छ, साथसाथै विकासको लागत पनि बढाएको छ । यो लागत पनि तपाईंहरुले व्यहोर्नुपर्छ’ मन्त्री डा। महतले भने, ‘हजारौं वर्षदेखिको अभ्यासबाट विकसित हाम्रो सभ्यतामा क्षति पुगेको छ । आधुनिकताको नाममा पश्चिमले जे ग¥यो, त्यसलाई हामीले ग्रहण गर्न थाल्यौं । हाम्रो जीवनशैली परिवर्तन भएको छ । यसले नयाँ नयाँ रोग भित्र्याएको छ । हामीले हाम्रो उत्पादनलाई परिवर्तन ग¥यौं, जसले गर्दा धेरै ठूलो क्षति हामीले व्यहोरिरहेका छौं । उत्पादनमा रसायनको प्रयोगले मानव जीवनमा धेरै ठूलो क्षति गरिसक्यो ।’



About Us
प्रतिक्रिया