बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य सहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ ।
यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रुपमा यो कम्पनी भित्रिन लागेको हो ।
पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।
जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म विक्री गरिसकेको छ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आ
वेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा य कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।
आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छभने सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।
प्रतिक्रिया