कोप-२८ सम्मेलन विफल


बैंकिङ्ग समाचार, काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउन समेत आफू बिल्कुलै सहमत नभएको बताएको छ ।

नोभेम्बर ३० देखि दुबईमा शुरु जलवायु परिवर्तन सम्बन्धी कोप-२८ सम्मेलन विफल बनेको छ । सम्मेलन सकिन ६ दिन बाँकी रहँदा प्रदूषक जीवाष्म इन्धन उत्पादक र त्यसमा निर्भर मुलुकहरूले प्रदूषण नियन्त्र देखि जलवायु वित्तसम्मका प्रस्तावमाथि कडा प्रहार गरेका छन्‌ ।

दुबईमा स्वच्छ ऊर्जा वकालत गर्ने प्रत्येक प्रतिनिधि मण्डल भन्दा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या धेरै हुँदा संयुक्त राष्ट्रसंघीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् ।

विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ ।

विश्वव्यापी तापक्रममा सबैभन्दा ठूलो योगदान गर्ने जीवाश्म इन्धनको भविष्यमाथिको पेचिलो बहसका लागि तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गरेको राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२८) को बैठक मुख्य रणभूमि हो । सात वर्षभित्र विश्वव्यापी तापक्रमले एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न सक्छ भनी वैज्ञानिकहरूले दिएको चेतावनीका बावजुद यस्तो धारणा आएको हो ।

दुबईमा सम्भावित सम्झौताको पछिल्लो संस्करणमा तीन विकल्प थिए– जीवाश्म इन्धनको ‘व्यवस्थित तथा न्यायसङ्गत’ चरणबद्ध अन्त्य, जीवाश्म इन्धन परियोजनाहरूलाई चरणबद्ध कम गर्नका लागि तीव्र प्रयास वा कुनै पनि विषय समावेश नगर्ने !

अघिल्लो कोप वार्ताहरूमा अवरोध सिर्जना गरेका राष्ट्रहरूले ती परम्परागत स्थितिमा आफूलाई उभ्याउँदै छन् । साउदी अरबका ऊर्जामन्त्रीले कोप-२८ सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले कम गर्नका लागि आफू ‘बिल्कुल सहमत’ नभएको बताएका छन् । उनले यस्तो परिवर्तनको सम्भावनाबारे समेत प्रश्न गरेका छन् ।

यद्यपि जर्मनीका जलवायु दूत जेनिफर मोर्गनले विश्वव्यापी ऊर्जा प्रणालीलाई रूपान्तरण गर्नु ‘एकमात्र विकल्प’ भएको बताए । नवीकरणीय ऊर्जाहरू भविष्य हुन्, जीवाश्म युगको अन्त्य यहाँ कोप-२८ मा मूर्त हुनुपर्छ । धनी अर्थतन्त्रहरूले आफ्नै हाइड्रोकार्बन परियोजनाहरूको विस्तार गर्दा जीवाश्म इन्धनबाट बाहिर निस्कन माग गरेकामा उनीहरूलाई पाखण्डको आरोप लगाइएको छ ।

क्युबाका कूटनीतिज्ञ पेड्रो लुइस पेड्रोसोले विकासोन्मुख मुलुकहरूलाई पर्याप्त सहयोग उपलब्ध नगराई कठोर आर्थिक परिवर्तन गर्न गइरहेको बताए । ‘यदि एउटा अत्यन्त निर्धन मुलुकले तेल पत्ता लगाउँछ र उसलाई कसैले सहयोग गर्दिनँ भन्यो भने हामीले कसरी उसलाई जीवाश्म इन्धन छुन सक्दैनौ भन्न सक्छौँ ?’, कथित ग्लोबल साउथ राष्ट्रहरूको समूहको नेतृत्व गर्ने पेड्रोसोले भने ।