मौद्रिक नीति कार्यान्वयनबारे गभर्नर अधिकारीले अर्थ समितिमा दिए जवाफ (पूर्णपाठसहित)


काठमाडाैं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिमा मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन  र उपलब्धिबारे लिखित जवाफ पेस गरेका छन्।

समितिले बुधबार गरेका मौद्रिक नीति कार्यान्वयन र उपलब्धिसम्बन्धमा छलफलमा गभर्नर अधिकारीले देशकाे वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे लिखित जवाफ पेस गरेका हुन्। गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा लक्ष्यअनुसार आर्थिक वृद्धि हुन नसक्ने बताएका छन्। आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकाे छ, गभर्नर अधिकारीले ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गरेकाे बताएका छन्।

पछिल्लो समय पर्यटन आगमनमा भएको सुधार, उल्लेख्य विप्रेषण आप्रवाह, तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएको अवस्थाले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने उनकाे भनाइ छ।

समितिमा उनले देशकाे आर्थिक, मूल्यवृद्धि, बाह्य क्षेत्र, मौद्रिक तथा बैकिङ क्षेत्र, मौद्रिक नीतिको व्यवस्था र कार्यान्वयन अवस्थालगायतबारे लिखित जवाफ दिएका छन्।

यस्ताे छ समितिमा उनले दिएकाे जवाफ:

आर्थिक अवस्था
आर्थिक वर्ष २०८०/८१ को बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, घटिरहेको र कर्जा प्रवाह बढ्न शुरू गरेकोले चालु आर्थिक वर्ष ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आंकलन गर्न सकिन्छ। कोभिडपछि उच्च संख्यामा वैदेशिक रोजगारी र अध्ययनमा युवाहरू विदेश गएकोले आन्तरिक माग भने घटेको स्थिति छ। तर, पछिल्लो समय पर्यटन आगमनमा भएको सुधार, उल्लेख्य विप्रेषण आप्रवाह, तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएको अवस्थाले आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पार्ने देखिन्छ।

मूल्यवृद्धिको अवस्था
मूल्यवृद्धि अझै उच्च रहेको छ। २०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको छ जुन २०७९ असोजभन्दा १ प्रतिशत बिन्दुले कम हो तर मौद्रिक नीतिले लिएको ६.५ प्रतिशतको लक्ष्यभन्दा केही बढी हो। खासगरी खाद्य तथा पेय पदार्थको मूल्यवृद्धिले गर्दा समग्र मूल्यवृद्धि उच्च रहेको छ। २०८० असोजमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ८.४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.८ प्रतिशत रहेको छ। भारतमा मूल्यवृद्धि घट्दै गएको र नेपालमा थोक मूल्यवृद्धिमा आएको सुधारले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा छ।

बाह्य क्षेत्र
बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको छ । लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले घटेको छ । व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको छ। २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालु खाता रू ५९ अर्बले बचतमा रहेको छ। यसका साथै गत वर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधानान्तर बचत पनि २०८० असोजसम्म रू ९९ अर्ब कायम हुन गएको छ। २०७९ असोजसम्म रू ८ करोड जति विदेशी लगानी आएकोमा चालु आर्थिक वर्षको असोजसम्म रू ३ अर्ब ३८ करोड प्राप्त भएको छ।

शोधनान्तर बचत भएसँगै विदेशी विनिमय सञ्चिति बढ्दै गई २०८० असोजमा रू १६ खर्ब ४३ अर्ब (१२.३ अर्ब अमेरिकी डलर) पुगेको छ। उक्त सञ्चितिले १०.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको छ।

पर्यटक आगमन सन् २०२३ को १० महिनामा सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको छ। वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालु आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको छ।

मौद्रिक तथा बैकिङ क्षेत्र
बाह्य क्षेत्रको सुधारसँगै बैकिङ क्षेत्रको तरलतामा पनि सुधार भएको छ। गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको छ। यसले मौद्रिक विस्तार उच्चदरले बढेको देखाएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको छ। कर्जा विस्तारमा पनि सुधार हुँदै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनामा रू ५९ अर्ब रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा रू १०९ अर्बले बढेको छ। तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने देखिन्छ।

मौद्रिक नीतिको लचक कार्यदिशा र तरलतामा आएको सुधारले अल्पकालिन र दीर्घकालीन व्याजदरहरू घटिरहेका छन्। २०७९ असोजमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको छ । ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर थप घटेर २०८० मंसिर १८ गते २.६२ प्रतिशत कायम भएको छ। बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत व्याजदर २०७९ असोजमा ८.५१ प्रतिशत रहेकोमा २०८० असोजमा २.२६ प्रतिशत रहेको छ। यस्तो अन्तर बैंक ब्याजदर थप घटेर २०८० मंसिर १८ गते १.०१ प्रतिशत कायम भएको छ।

अघिल्लो आर्थिक वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.३४ प्रतिशत रहेकामा २०८० असोजमा ९.९४ प्रतिशत, एकल अंकमा झरेको छ। २०७९ माघमा वाणिज्य बैंकहरूको भारित औसत कर्जाको ब्याजदर १३.०३ प्रतिशत पुगेकोमा २०८० असोजमा १२.१ प्रतिशतमा झरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर थप घटाउँदै लगेको हुँदा कर्जाको ब्याजदर थप घट्न गइरहेको छ।

मौद्रिक नीतिको व्यवस्था र कार्यान्वयन अवस्था
चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिएपश्चातका नियामकीय नीति तथा व्यवस्थाहरूः

मिति २०८०/४/१२ को परिपत्रमार्फत्
१) रू २५ लाख सम्मको व्यक्तिगत हायर पर्चेज र व्यक्तिगत अटो लोनमा जोखिम भार १०० प्रतिशत कायम गरिएको।
२) शेयरको धितोमा प्रवाह हुने रू। ५० लाख सम्मको कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरिएको।
३) जग्गा अधिग्रहण र विकास उद्देश्यका लागि नेपाल सरकारबाट दर्ता भएकारइजाजतपत्र प्राप्त संस्थाहरूरपरियोजनाहरूका लागि प्रवाह हुने कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरिएको।
४) पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई रू २ करोडसम्मको आवासीय घर कर्जामा बढीमा ७० प्रतिशतसम्म कायम गरिएको।
५)आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ। बैंकदरलाई ७५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको।

मिति २०८०/६/१८ को परिपत्र मार्फत सहज गरिएका व्यवस्थाहरू
६) बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षीपालन, निर्माण (सिमेन्ट, डण्डी, ईंटारब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जासमेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक र दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जा र रू ५ करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योगरव्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी देहायका शर्तहरूको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्ने व्यवस्था गरिएको।
७) असल कर्जामा न्यूनतम कर्जा नोक्सानी व्यवस्थाः १.३०५ बाट घटाई १.२५५ गरिएको।
८) कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको
कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रू १५ करोड कायम गरिएको । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो कर्जाको अधिकतम सीमा रू २० करोड कायम गरिएको।
९) रियलस्टेट कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबीचको अनुपात बढीमा ५० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरिएको । तर, निजी आवासीय घर कर्जा र नियमानुसार दर्ता भई सञ्चालनमा रहेका नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनी र परियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो
अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सकिने।
१०) कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा एउटै प्रकृतिका कर्जा तथा सापटको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न नपाईने व्यवस्था गरिएको।
११) रू। २५ लाखभन्दा बढीको व्यक्तिगत हायरपर्चेज र व्यक्तिगत अटो लोनमा जोखिम भार १२५ प्रतिशत मात्र कायम गरे हुने व्यवस्था गरिएको।

मिति २०८०/८/१३ को परिपत्रमार्फत्
१२) जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्ने । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने ।
१३) जेभीमा आवद्ध कुनै फर्मरकम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जेभीमा आवद्ध अन्य फर्मरकम्पनीहरूलाई कालोसूचीमा राख्न अनिवार्य नहुने ।

बैंक तथा वित्तीय संस्थाको पछिल्लो वित्तीय अवस्था
मौद्रिक नीतिको कार्यान्वयनको क्रममा बैंक तथा वित्तीय संस्थाको लागि गरिएका थप सहजतासम्बन्धी व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था निम्नानुसार रहेको ।
१) गत आर्थिक वर्षको साउन १ गतेदेखि मंसिर १५ सम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप करिव रू ५० अर्व बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा करिव रू २०९ अर्बले वृद्वि भएको ।
२)गत आर्थिक वर्षको साउन १ देखि मंसिर १५ सम्म बैंक तथा वित्तीय संस्थामा करिव रू ६९ अर्वले कर्जा बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा कर्जा करिव रू १२५ अर्वले वृद्धि भएको ।
३)२०७९ मंसिर १५ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ८६.९९ प्रतिशत रहेकोमा २०८० मंसिर १५ मा उक्त अनुपात ८०.३७ प्रतिशत रहेको।
४) साथै, २०७९ मंसिर १५ बैंक तथा वित्तीय संस्थाको खुद तरलता अनुपात २४.१२ प्रतिशत रहेकोमा २०८० मंसिर १५ मा उक्त अनुपात २९.६४ प्रतिशत रहेको ।