ऋण तिर्दिनु बचतकर्ताकाे बचत सकिनु हाे, बचतकर्तालाई सरकारले अन्याय गर्दैन : अर्थमन्त्री


नवलपरासी- अर्थमन्त्री डा प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्।

मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन। यो बचतकर्ताको पैसा हो। ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो। त्यसको क्षतिपूर्ति कसले तिर्ने? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्। बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन।’

उनले सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएकाे र तिर्न कठिनाइ भएपछि उनीहरूले अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएकाे बताए। ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ। त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ। अवश्य पनि उनीहरुका लागि समस्या आयो। जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो,’ उनले भने।

उनले कहाँ लगानी गर्दा प्रतिफल आउँछ साेचविचार नगरी लगानीकर्ताले ऋण लिएर सीमित साधन स्राेत ठेक्कामुखी टावर, घरजग्गा, सेयर बजार र क्रिप्टाेमा अत्यधिक लगानी भएकाले प्रतिफल आउन नसकेकाे बताए।

‘नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ। अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन स्राेत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गर्याे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो,’ उनले भने, ‘कहाँ लगानी गर्ने रु प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए। घरजग्गामा अत्यधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो। सेयर बजारमा लगानी भयो। कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन्। ती लगानीको प्रतिफल आइरहेको छैन। माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ।’