एनसेल सेयर खरिद-बिक्री प्रकरणबारे सरकारले छानबिन गर्ने

एनसेल सेयर खरिद-बिक्री प्रकरणबारे सरकारले छानबिन गर्ने


काठमाडाैं- सरकारले एनसेल सेयर खरिद-बिक्री प्रकरणबारे छानबिन गर्ने भएकाे छ।  

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताएकी छन्।

विज्ञप्तिमा भनिएकाे छ, ‘अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउनेछ। नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ।’

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेकाे थियाे। सम्बन्धित क्षेत्रका नियामक निकायलाई जानकारी नै नदिइ शेयर खरिद–बिक्री भएपछि कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पादर्शितामाथि गम्भीर प्रश्न उब्जिएका छन्।

एनसेलको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानून र प्रक्रियाअनुसार भए वा नभएको विषयमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन्।

नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट शेयर खरिद–बिक्री भएको भन्दै सार्वजनिक लेखा समितिले पनि सम्बन्धित निकायमार्फत यस विषयमा जवाफ मागेको छ। साथै, बुधबारका लागि सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाएको छ। यसरी राज्यका निकायलाईसमेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद–बिक्री भए भन्दै यो व्यवसायिक कारोबारको कानूनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका छन्।