गुल्मीमा सुन्तला उत्पादन कम


बैंकिङ्ग समाचार, काठमाडौँ ।

यस वर्ष फले सुन्तलाका आकार साना छन् । फल पनि पातलो छ । त्यसैले उत्पादन घटेको कृषि ज्ञान केन्द्रको भनाइ छ । जिल्लाबाट उत्पादित सुन्तला बुटवल, पोखरा, काठमाडौं लगायतका ठाउँमा बिक्री हुने गरेको छ ।अधिकांश बगैचामा मलखाद र सुक्ष्म तत्वको अभावका कारण पात पहेँलिने, छिर्केमिर्कै हुने, हाँगा सुक्ने, बोट टुप्पाबाट सुक्दै जाने, फल झर्ने, रसिलो फल नलाग्ने, फल सानो हुने, फलका बोक्रा बाक्लो हुने जस्ता समस्या देखिएका छन् ।

गत वर्षभन्दा ११.८७ प्रतिशतले सुन्तला उत्पादन घटेको प्रक्षेपण गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।गत वर्ष ५८८ हेक्टर उत्पादनशील क्षेत्रफलमा ६,८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यो वर्ष ६२३ हेक्टर क्षेत्रमा ६,५७२.४ मेट्रिक टन सुन्तला उत्पादन भएको अनुमान गरिएको भण्डारीले बताए ।

गुल्मी जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा कृषकहरुको स्वलगानी, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तह, केही गैह्रसरकारी संस्था मार्फत १ सय ३० हेक्टर जग्गामा सुन्तला रोपिएको थियो । कृषि ज्ञानकेन्द्र गुल्मीले गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन कम भएको प्रक्षेपण गरेको छ ।

भण्डारीका अनुसार गत वर्ष १३ करोड २१ लाख मूल्य बराबरको सुन्तला निर्यात भएकोमा यस वर्ष १२ करोड ८४ लाखको मात्र निर्यात हुने अनुमान गरिएको छ । गत वर्ष बढी उत्पादन भएका कारण कारण यो वर्ष कम उत्पादन देखिएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।