बैंकको सुन बिक्नै छाड्यो, नयाँ किन्ने भन्दा पुराना गहाना बेच्ने बढे

व्यवसायी भन्छन: सुनको मुल्य अझै बढ्छ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाली सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि प्रतितोला छापावाल सुनको मुल्य एक लाख १९ हजार तीन सय रुपैैंयाँ तोकेको छ भने प्रतितोला तेजावी सुनको मुल्य एक लाख १८ हजार सात सय ५० रुपैंयाँ तोकेको छ । सुनको यो बजार मुल्य हालसम्म कै उच्च हो । यो मुल्यमा सुन किनेर गहना बनाउँँदा प्रतितोला सुनको गहनाको मुल्य एक लाख ३० हजार रुपैंयाँको हाराहारीमा पुग्छ । किनकी प्रतितोला सुनको गहना बनाउँदा १० प्रतिशतसम्म जर्ति राख्न सक्ने व्यवस्था रहेको छ । सोही अनुसार अहिले नेपाली बजारमा प्रतितोला सुनको गहनाको मुल्य एक लाख ३० हजार रुपैंयाँसम्म पुगेको छ ।

सुुनको मुल्यले यसरी दिनदिनैं नयाँ रेर्कड कायम गरिरहंदा नेपाली बजारमा भने नयाँ सुन किन्ने भन्दा पनि पुराना सुनका गहना बेच्नेहरुको संख्या बढेको छ । यही कारण पछिल्लो समय बैंकहरुको सुन बिक्न छाडेको छ । अहिले नेपालमा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरु मध्येमा एभरेष्ट बैंक, स्टान्र्डड चार्टड बैंक, हिमालयन बैंक र नेपाल एसबिआई बैंक बाहेकका १६ वटा बैंकले दैनिक २० केजीका दरले सुन आयात गर्न पाउँछन ।

नेपाल राष्ट्र बैंकले २०८० असोज १० गते यसअघि कायम रहेको दैनिक सुनको आयात कोटा १० केजीलाई बढाएर दैनिक आयात कोटा २० केजी पुर्याएको हो । तर अहिले बजारमा सुनको मुल्य बढेको र माग कम भएकाकारण बैंकहरुले आयात गरेको सुन बिक्न छाडेको छ । सोही कारण पछिल्लो समय सुन आयात गर्नु अनुमती पाएका बाँणिज्य बैंकहरुले आफ्नो पालोमा सुन ल्याउन छोडेका छन, नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्य भन्छन ।

अहिले बिवाहको सिजन भएपनि सुनको बिक्री निकैं नैं न्युन रहेको छ । अहिलेको अकासिएको बजार मुल्यलाई हेर्दा नेपालको कुल जनसंख्या मध्ये शुन्य दशमलव पाँच प्रतिशत जनताको पनि सुन किन्न सक्ने हैसियत छैन । मुल्य बढेकै कारण अहिले नेपाली सुनबजारमा नयाँ सुन किन्ने भन्दा पनि पुराना सुनका गहना बेच्नेहरु बढेका छन् । त्यसलै अहिले सुनको माग धानिरहेको छ, शाक्य भन्छन । बिगतका बर्षहरुमा धनतरेसदेखि नैं सुनको बिक्री बढ््थ्यो । दैनिक ५०, ६० केजीसम्म सुन बिक्री हुन्थ्यो । तर अहिले आर्थिक मन्दी र सुनको उच्च मुल्यककारण सुनको दैनिक मुल्य मुश्किलले २० केजीको हाराहारीमा रहेको छ, उनी भन्छन् ।

बिश्वबजारलाई हेर्दा सुनको मुल्य घट्न सक्ने कुनै संभावना नरहेको पनि उनले बताए । केही साताअघि मात्र चाईनाको केन्द्रिय बैंकले १७ दशमलव छ टन सुन किनेर आफ्नो भण्डारण राखेको छ, रुस र युक्रेन युद्धको अन्त्य कहिले हुने हो थाहा छैंन, पछिल्लो समय इजरायल र हमासबिचको युद्ध पनि जारी छ ।

अर्कोतर्फ अमेरिकाको फेडरल रिर्जव बैंकले व्याज बढाउने भनेतापनि तत्काल व्याज नबढाउने भएको छ, यि सबैको प्रभाव अहिले सुन बजारमा परेको छ । सोही कारण तत्काल सुनको मुल्य घट्ने संभावना छैन । सुनको मुल्य अझैं निकै बढ्छ, संस्थापक अध्यक्ष शाक्य भन्छन् । सुनको मुल्य बढेर बजार धरासायी हुँदा देशभर रहेका २५ हजार भन्दा बढी सुनचाँदी व्यवसायीहरु पलायन हुन सक्ने संभावना रहेको पनि उनले बताए ।