आयात–निर्यातमा घट्यो ४.६१ खर्ब व्यापार घाटा


बैंकिङ्ग समाचार,काठमाडौं ।

चालु आर्थिक वर्षको ४ महिना कात्तिकसम्ममा मुलुकले आयात–निर्यात दुवै घटेको छ।
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निर्यात पनि ७.६८ प्रतिशतले घटेको छ भने अघिल्लो वर्ष यही अवधिसम्म ५४ अर्ब ७७ करोड रुपैयाँबराबरको निर्यात भएकोमा समीक्षा अवधिमा घटेर ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँबराबरको मात्रै भएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ४ महिनामा ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३.७९ प्रतिशतले कम हो।

अघिल्लो वर्ष यही अवधिसम्म ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो।
समीक्षा अवधिमा नेपालको वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँबराबरको भएको छ। अघिल्लो वर्षको यही अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।विभागका अनुसार कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँबराबर रहेको छ। अघिल्लो वर्षको यही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो।