भारततर्फ चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

भारततर्फ चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात



बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको चौथो महिना कात्तिकसम्म नेपालबाट भारततर्फ साढे १२ अर्ब रुपैयाँको विद्युत निर्यात भएको छ। प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको कात्तिकसम्म प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो । यो हिसाबले समीक्षा अवधिमा प्राधिकरणले अघिल्लो वर्षको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँ बढीको विद्युत भारततर्फ निर्यात गरेको छ।

प्राधिकरणले साउनमा २ अर्ब १४ करोड ७६ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख, असोजमा ४ अर्ब १७ करोड ७७ लाख र कात्तिकमा २ अर्ब ६९ करोड ७० लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । चार महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रति युनिट ९ रुपैयाँ १८ पैसा छ । गत वर्ष सोही अवधिको समग्र औसत बिक्री दर प्रति युनिट ७ रुपैयाँ ७६ पैसा थियो ।

प्राधिकरणको तथ्यांकअनुसार गत साउनमा प्राधिकरण प्रतियुनिट औसत ८.३९ रुपैयाँमा, भदौमा ११.२४ रुपैयाँमा, असोजमा ९.७३ रुपैयाँ र कात्तिकमा ७.३६ रुपैयाँमा विद्युत निर्यात गरेको छ।