सरकार ब्यापारमा फेल भयोः अर्थमन्त्री खतिवडा 

सरकार ब्यापारमा फेल भयोः अर्थमन्त्री खतिवडा 


बैकिङ्ग समाचार ।
अर्थमन्त्री डा. युुवराज खतिवडाले सरकार ब्यापारिक क्षेत्रको  उत्थान र प्रवद्र्धनमा फेल भएको बताएका छन् । नेपाल राष्ट्र बैंकद्धारा  शुक्रबारआयोजित तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले आर्थिक समृद्धिको सपना बोकेर हिँडेको सरकार मुलुकका ७५३ वटै स्थानीय तहमा व्यापारिक गतिविधि बढाउन नसकेको जिकिर गरे । उनले भने, ‘सरकार फेल भयो भनेर चौतर्फी आवाज त उठ्यो । तर वास्तममा सरकार व्यापारिक क्षेत्रको विकासमा फेल भएको हो । बैंक तथा वित्तिय क्षेत्रको परिचालनमा फेल भएको हो ।’  सरकारले व्यवसाय गर्न फेल भएपनि व्यवसायीक बजारलाई भने फेल हुन नदिने उनको भनाइ छ । जसका लागि सरकारले आन्तरिक उत्पादन वृद्धि गर्न सबै स्थानियतहमा नयाँ व्यवसायीक संस्थाहरु स्थापन र दक्ष जनशक्ति उत्पादनमा विषेशगरी काम गरेको खतिवडाले बताए ।

फरक–फरक नाममा बैंक तथा वित्त संस्था र गैरबैंकिङ संस्थाले एउटै काम गरिरहेको कारणले सरकार, केन्द्रिय बैंक र जनतालाई नै बैंक र गैर बैंकिङ संस्था छुट्याउन गाह्रो भएको उनले बतए । उनले भने, ‘थुप्रै वित्तिय संस्थाहरु छन् । उनीहरुका लक्ष्य पनि फरक फरक छन् । तर, त्यस्ता संस्थाहरुले फरक फरक गतिविधि गर्नुपर्नेमा एउटै प्रकारको काम गरिरहेका छन् ।’ यस्ता खाले गतिविधिले जनस्तरसम्म वित्तिय साक्षरता नपुग्ने र मुलुक आर्थिक समृद्धिमा जान नसक्ने उनले बताए । 

पछिल्लो केही वर्षयता नेपालमा छायाँ बैंकिङको प्रवित्ति हाबी हुदै गएको भन्दै उनले वाणिज्य बैंकले गर्ने काम निजी क्षेत्रका अन्य गैरबैंकिङ संस्थाहरुले पनि गर्दै आएको बताए । बैंकहरुले गैरपरम्परागत गतिविधि गर्न थालेको र त्यसको फाईदा उठाउँदै निजी क्षेत्रले हाईअर पर्चेज, फाइनान्सिङ, निक्षेप तथा कर्जा परिचालन, चेक जारी गर्ने, लगायतका काम गर्दा बैंक र गैरबैकिङ संस्था छुट्याउन गाह्रो भएको उनले बताए । बैंकिङ गतिविधि मात्र वित्तीय समावेशीकरण नहुने बताउँदै ‘बैंक तथा वित्तीय संस्थाले यसमा भएको जोखिम व्यवस्थापन गर्दैन ।’

बीमा कम्पनीहरुले यसको जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्था जोखिममा परेर वित्तीय समावेशीतामा उनीहरुको भुमिका फितलो देखिने उनको भनाइ छ ।

विकासको नाममा आर्थिक वृद्धिलाई मात्र हेर्दा मुलुकमा दिगो विकास नहुने उनले बताए । आर्थिक वृद्धिको मात्र लक्ष्य प्राप्त गर्दा पछि वित्तीय स्थायित्व कायम गर्न सम्भव नहुने बताउँदै उनले भने  ‘आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान तबरले अगाडि बढाउनु पर्छ,’ उनले भने ‘हाम्रो जोड अहिले आर्थिक वृद्धिमा मात्र भइरहेको छ, अब भने वित्तीय स्थायित्वलाई पनि जोड दिनु पर्छ ।’